मुख्यमन्त्री डोरमणि पौडेलको भनाईप्रति मकवानपुरे सांसदद्वारा खेद व्यक्त, आरोप पुष्टि गर्न चुनौती

बाइलाइन नेपाल
२६ श्रावण २०७७, सोमबार १६:१४

हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको पाँचौ जिल्ला सभाको उद्घाटन गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरे सांसदहरुलाई लगाएको आरोपको खण्डन आएको छ । सभामा मुख्यमन्त्री पौडेलले मकवानपुरकै सांसदहरुको पहलमा आफु माथि अविश्वासको प्रस्ताव ल्याएर मुख्यमन्त्रीबाट हटाउने चलखेल भइरहेको आरोप लगाएका थिए ।

मकवानपुरमा रहेका ५ जना प्रदेश सांसदहरु मध्ये चार जनाले आज प्रेस विज्ञप्ती जारी गर्दै मुख्यमन्त्रीले सभामा लगाएको आरोपप्रति खेद प्रकट गरेका छन् । उनिहरुले विज्ञप्तीमार्फत् आरोप पुष्टि गर्न चुनौती समेत दिएका छन् । सार्वजनिक कार्यक्रममै आफ्नै जिल्लाका सांसदहरु मागि गम्भीर आरोप लगाएपछि सांसदहरुले आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।

मकवानपुरबाट वाग्मती प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेकपाका सांसद कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी र ओम घलानले संयुक्त विज्ञप्ती जारी गर्दै मुख्यमन्त्रीको भनाईको खेद प्रकट गर्दै आफुले बोलेका कुरा पुष्टि गर्न चुनौती दिएका हुन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद जुनेली श्रेष्ठको भने विज्ञप्तीमा सहभागिता रहको छैन ।

चारै जना सांसदद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा मुख्यमन्त्रीले दिएको अभिव्यक्तीले गम्भीर ध्यानाकर्षण गराएको उल्लेख छ । कुनै प्रशंग विना मुख्यमन्त्रीको भनाइले नेतृत्व, नेता, कार्यकर्ता र आमजनमानसमा भ्रम सिर्जना हुन पुगेको विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तीमा भनिएको छ– ‘२०७७ साउन २५ गते जिल्ला समन्वय समिति मकवानपुरको पाँचौँ जिल्लासभामा बागमती प्रदेशका मुख्यमन्त्री माननीय डोरमणि पौडेलले ‘आफूविरुद्ध अविश्वासको प्रस्ताव र हस्ताक्षर अभियान’ चलाइएको भनेर दिनु भएको अभिव्यक्तिले हामी मकवानपुरबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

केन्द्रीयस्तरमा नेकपाको स्थायी कमिटी बैठक चलिरहँदा र शीर्ष नेतृत्व छलफलमा जुटिरहँदा कुनै प्रसंगविना मुख्यमन्त्रीज्यूले दिनु भएको अभिव्यक्तिले नेतृत्व, नेता, कार्यकर्ता र आमजनमानसमै भ्रम सिर्जना हुन पुगेको छ । मुख्यमन्त्रीज्यूको अभिव्यक्तिप्रति हामी खेद नै व्यक्त गर्न चाहन्छौँ । बजेट वितरणका सन्दर्भमा संसदीय दलको बैठकमा प्रदेश सांसदहरुको सामान्य असन्तुष्टि पनि सामना गर्न नसकेपछि अधिकांश प्रदेश सभा सदस्यहरुबाट मुख्यमन्त्रीज्यूको सामान्य विरोध भएकै हो ।

प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्च हुन नसक्नुमा सरकारकै कमजोरी रहन्छ । यो सामान्य विषय नै रह्यो । यद्यपि बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा बनाउने सन्दर्भमा पार्टीले गरेको निर्णय हामीले आत्मसात् गरेका हौँ । तर मुख्यमन्त्रीज्यूले यसलाई व्यक्तिगत पुँजीका रुपमा लिएपछि प्रदेश सभा सदस्यमा रहेको असन्तुष्टि बजेटका सन्दर्भमा प्रकट भएको हुन सक्छ । बजेट पास नहुने अवस्था भएपछि पार्टी प्रदेश कमिटी इञ्चार्जलगायतको पहलकदमीले बजेट पास हुने वातावरण बनेको मुख्यमन्त्रीज्यूमा अवगत नै छ । यी सब घटनाक्रमका बाबजुद पनि प्रदेश सभामा आफूलाई कमजोर महसुस गरी यो कमजोरी ढाकछोप गर्न र असक्षमता लुकाउन पो मुख्यमन्त्रीज्यूले यस्तो अभिव्यक्ति दिनु भयो कि भन्ने हामीलाई लागेको छ । उहाँले दिनु भएको अभिव्यक्तिमा हाम्रो आपत्ति त छदैँछ पुष्टि गर्ने अधिकार पनि उहाँमै रहेको जानकारी गराउँदै सर्वसाधारण जनता, पार्टी नेतृत्व, नेता, कार्यकर्तामा कुनै भ्रम नरहोस् भन्नखातिर हामीले यो सामुहिक प्रेस विज्ञप्ती जारी गरेका छौँ ।’

मुख्यमन्त्री पौडेलले कार्यक्रममा मकवानपुरकै सांसदहरुको पहलमा आफु माथि अविश्वासको प्रस्ताव ल्याएर मुख्यमन्त्रीबाट हटाउने चलखेल भइरहेको आरोप लगाउँदै आफुलाई मुख्यमन्त्रीबाट कसैले हटाउलान कि भन्ने चिन्ता नभएको बताएका थिए । ।

मुख्यमन्त्रीले आरोप लगाउँदा मञ्चमा मकवानपुरबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद विरोध खतिवडा, प्रदेश सांसद कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, मुनु सिग्देल, जुनेली श्रेष्ठ रहेका थिए ।

केही समयअघि हेटौंडाको एभोकाडोमा भएको संसदीय दलको बैठकमा डोरमणि पौडेलले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने आवाज सांसदहरुले उठाएका थिए । त्यही बैठकमा केही सांसदले हस्ताक्षर संकलन गरेर भएपनि पौडेललाई हटाउनु पर्ने भन्दै तयारी गरेपनि हस्ताक्षर भने संकलन नभएको स्रोतले जनाएको छ । मुख्यमन्त्री पौडेलले त्यसैको रिस जिससको कार्यक्रमममा पोखेको एक प्रदेश सांसदले जानकारी दिए ।

संसदीय दलको बैठक टरेपछि मुख्यमन्त्री पौडेलले आफ्नो पक्षमा बहुमत सांसद ल्याउन सफल भएको स्रोतले बतायो । अहिले उनले त्यतिखेर हस्ताक्षर संकलन गर्ने समूहलाई हस्ताक्षर गरेर आफु विरुद्ध बहुमत पुर्याउन चुनौती दिने गरेको जनाइएको छ । मुख्यमन्त्री पौडेल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली गुटका भएका कारण पनि उनको राजीनामा अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपाल गुटका सांसादले मागेको हुनसक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*