कति पुग्यो मकवानपुरमा कोरोना संक्रमितको संख्या ?

बाइलाइन नेपाल
२५ श्रावण २०७७, आईतवार १८:१८

हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडा रहेको मकवानपुर जिल्लामा एकसाता देखि कोरोना भाइरसका संक्रमित देखा पर्न थालेका छन् । हेटौंडा उपमहानगरपालिकासहित गाउँपालिकामा समेत कोरोना संक्रमित देखा पर्न थालेपछि सर्वसाधारण आंतकित हुन पुगेका छन् ।

मकवानपुरमा आज आइतबारमात्र २३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । हालसम्म मकवानपुरका ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्थानीय तहको आधारमा हेर्ने हो भने हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा बढी ३९ जना, मनहरी १२ जना, थाहामा ७ जना, भीमफेदीमा ४ जना र वाग्मती ३ जना संक्रमित फेला परेका छन् ।

यसैगरी, राक्सिराङ, मकवानपुरगढी तथा कैलाश गाउँपालिकामा पनि संक्रमित फेला परिसकेका छन् । यस्तै मकवानपुरका विभिन्न स्थानमा कार्यरत रहेका प्रहरीलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

हेटौंडामा रहेको आइसोलेसनमा हालसम्म ६८ संक्रमण पुष्टि भएका मध्ये २९ जना उपचारपछि डिस्चार्ज भएका छन । आज संक्रमण पुष्टि भएका सहित ४५ जना आइसोलेसनमा उपचाररत रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

कोरोना भाइरस नेपाल प्रवेशको पहिलो चरणमा लकडाउन भएका कारण सर्वसाधारणहरु निर्धक्क भएका थिए । तर लकडाउन हटेसँगै देशभरको आवतजावत बढेको र देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सर्वसाधारण चिन्तित भएका हुन् । लकडाउन खुलेपछि अहिले बजार तथा सार्वजनिक स्थलमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ । सुरक्षा सावधानी समेत अपनाउने नगरिएका कारण कोरोनाका संक्रमण समुदायस्तरमा फैलिएको अनुमान लगाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*