बन्ने भयो राक्सिराङको परेवाभीरमा सडक, पौने ७ करोडको ठेक्का आह्वान

बाइलाइन नेपाल
२२ श्रावण २०७७, बिहीबार १७:१६

वाग्मती प्रदेशको राजधानी रहेको मकवानपुरमा ६ सय ३० मिटर सडक निर्माण गर्न पौने ७ करोड रुपैयाँको ठेक्का आह्वान गरिएको छ । जिल्लाकै विकट क्षेत्र राक्सिराङ गाउँपालिकाको ५ र ४ नम्बर वडाको सिमाना पर्ने बहुचर्चित परेवाभीरमा पहरो फोरेर र पर्खाल उठाएर सडक बनाउन ठेक्का लागेको हो । यही परेवाभीर हो जसको कारण मकवानपुरमा राजनीतिक ‘भूकम्प’ नै आएको थियो ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले परेवाभीरको चट्टान फोरेर सडक निर्माण नहुने बताएपछि जिल्लामा राजनीतिक तरंग नै पैदा भएको थियो । परेवाभीर बारेको अभिव्यक्तिलाई लिएर पौडेल विवादमा पनि परे ।  पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयको एक कार्यक्रममा परेवाभीरबाट सडक नबन्ने र त्यसलाई छिचोलेर सडक निर्माण गर्ने बताएका थिए ।

पौडेलले प्राविधिक अध्ययन भइसकेको र परेवाभीरलाई छिचोल्दै मनहरीदेखि राक्सिराङको परेवाभीर हुँदै धादिङको मलेखु निस्किने सडक निर्माण गर्ने बताएका थिए । तर, पौडेलले स्थलगत निरीक्षण नै नगरी परेवाभीरबारे हचुवा धारणा राखेको भन्दै सत्तारुढ दलकै प्रतिनिधिसभा सांसददेखि प्रदेशसभा सदस्यसम्मले प्रतिवाद गरेका थिए ।

प्रदेशका सांसद ओमबहादुर ग्लान, सन्त चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानलगायतले प्रदेश सरकारलाई चालू आर्थिक वर्षमा परेवाभीरबाट सडक निर्माण गर्नका लागि बजेट विनियोजन गर्न पहल गरेका थिए । तर, सरकारले परेवाभीरबाट सडक निर्माण गर्न बजेट नछ्टयाएको भन्दै मुख्यमन्त्री पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलप्रति असन्तुष्टि जनाएका थिए ।

प्रदेश सरकारले परेवाभीरलाई बेवास्ता गरेको भन्दै राक्सिराङ गाउँपालिकाले परेवाभीरबाट सडक निर्माण गरि छाड्ने अडान लिएको हो । राक्सिराङ गाउँपालिकाले परेवाभीरमा बाटो बनाउन बहुवर्षीय ठेक्का आह्वान गरेको हो । बिहीबार राष्ट्रिय पत्रिकामा ठेक्का आह्वानको सूचना प्रकाशित गरिएको छ ।

३० दिनभित्रको समय तोकी भ्याटसहित ६ करोड ७५ लाखमा ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए । परेवाभीरको पहरोमा ६ सय ३० मिटर सडक बनाउन गाउँपालिकाले ठेक्का आह्वान गरेको हो । ‘परेवाभीरमा प्राविधिक अध्ययनले ३ सय १० मिटर शेरवाल उठाउने र ३ सय २० मिटर कडा चट्टान फोर्न पर्ने देखिएकोले ठेक्का आह्वान गरेका हौँ,’ अध्यक्ष मल्लले भने ।

गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७र०७८ मा परेवाभीरबाट सडक निर्माण गर्न २ करोड रुपैयाँ छुट्याएको थियो । सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विरोध खतिवडा र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले पूर्वाधार विकास कार्यक्रमको रकमबाट १र१ करोड रुपैयाँ हाल्ने प्रतिवद्धता जनाएपछि गाउँपालिकाले ठेक्का आह्वान गरेको अध्यक्ष मल्लले शिलापत्रलाई जानकारी दिए ।

‘हामीसँग ४ करोडको हाराहारीमा बजेट जुटेपछि ठेक्का आह्वान गरेका हौँ । यस वर्ष उक्त बजेटले काम पूरा हुन नसके अर्को वर्ष गाउँपालिकाले पुनः बजेट थप गरी काम पूरा गर्नेछ’, मल्लले भने । १८ महिनाभित्र काम सक्काउने गरी ठेक्का सम्झौता गर्ने गाउँपालिकाको तयारी छ ।

परेवाभीरको ६ सय ३० मिटर पहरो फुटाउने र पर्खाल लगाएर बाटो निर्माण गरिए मकवानपुरको मनहरीदेखि धादिङको मलेखुसम्मको ५२ किमि सडकको ट्रयाक पूरा हुनेछ । परेवाभीरबाट सडक निर्माण गर्न नसक्दा ट्रयाक हालसम्म पनि पूरा हुन सकेको छैन । परेवाभीरको दायाँ र बायाँतर्फ सडकको ट्रयाक आएर टुंगिएको छ ।

मकवानपुरबाट मुग्लिन हुँदै काठमाडौं जाने सडकको विकल्पको रूपमा मनहरी(मलेखु सडक खण्ड सञ्चालनमा ल्याउन लागिएको हो । यो सडक सञ्चालनमा आए मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिकाको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । राक्सिराङको परेवाभीर भन्ने स्थानमा सडक नहुँदा भीर र खोलाबाट यात्रा गर्नुपर्दा बर्सेनि कम्तीमा ३ जनाको मृत्यु हुने तरेको तथ्यांक छ ।

मकवानपुरको दुर्गम राक्सिराङ(४ र ९ नम्बर वडा तथा कैलाश गाउँपालिकाको वडा नम्बर(१, २, ७, ८ का बासिन्दा परेवाभीर हुँदै दैनिक उपभोग्य सामग्री खरिद तथा प्रशासनिक कामका लागि ज्यानको बाजी लगाएर गाउँपालिका केन्द्र चैनपुर तथा मनहरी बजार पुग्नुपर्ने बाध्यता छ । गाउँपालिका अध्यक्ष मल्लका अनुसार परेवाभीरका कारण १ दशकमा १२ जनाभन्दा बढी स्थानीयको ज्यान गइसकेको छ । साभारः शिलापत्र डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*