बल्ल तात्यो मकवानपुर प्रशासनः चुरियामाई नाका बन्द, सैलुन, ब्युटी पार्लर, जिम क्लब सञ्चालनमा रोक

बाइलाइन नेपाल
२१ श्रावण २०७७, बुधबार १२:१७
फाइल तस्वीर

हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौंडासहित मकवानपुर जिल्लामा कोरोना संक्रमित फेला पर्न थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सजकता अपनाउन थालेको छ । बारा, पर्सासहित कोरोना संक्रमण फैलिरहेका जिल्लाबाट सर्वसाधारण निर्वाध हेटौंडा भित्रन थालेपछि कोरोनाको जोखिम बढेको थियो ।

राजधानी हेटौंडामा नै कोरोनाका बिमारी फेला पर्न थालेपछि प्रशासनले सक्रियता देखाएको छ । हेटौंडा भित्रिने नाका चुरियामाईमा आजैबाट कडाई गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । सरकारले तोकेका ढुवानीका सवारीका साधन र पास भएका सवारीका साधनलाइ मात्र हेटौंडा प्रवेश गर्न दिने निर्णय गरिएको उनले जानकारी दिए ।

कोरोना संक्रमणमा बृद्धि भएसँगै मकवानपुरमा आजबाट ब्यूटी पार्लल, सैलुन, जिम क्लब बन्द गरिने र होटल तथा रेष्टुरेन्टमा भीड हुन नदिने निर्णय गरिएको प्रजिअ नेपालले बताए । बुधबार हेटौँडामा बसेको कमाण्ड पोष्टको बैठकले यस्तो निर्णय गरेको हो ।

आजको बैठकको निर्णय अनुसार टिसिएन रोडमा रहेको सिता भवन शिल गरिएको छ । ढुवानी साधनमा पनि चालक र सहचालक बाहेक अन्य यात्रुहरु ओसार पसार गर्न दिइएको छैन । पैदल यात्रुहरुलाई पनि मास्क नलगाएको अवस्थामा एक सय जरिवाना गरिने निर्णय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*