हेटौंडा कोरोनाको उच्च जोखिममा, प्रशासन उदासिन

बाइलाइन नेपाल
२० श्रावण २०७७, मंगलवार २१:०४
फाइल तस्वीर

हेटौंडा । प्रदेश नम्बर २ को बारा जिल्ला सँग सिमा जोडिएको र पर्साबाट नजिकै रहेको वाग्मती प्रदेशको राजधानी हेटौंडा कोरोनाको उच्च जोखिममा रहेको छ । भारतदेखि बारा, पर्सालगायत तराईका जिल्लाबाट अहिले पनि निर्वाध सर्वसाधारण आवतजावत गरेका कारण हेटौंडा जोखिममा परेको हो ।

सरकारले लकडाउन खुकुलो बनाएदेखि नै बाहिरी जिल्लाबाट सर्वसाधारण हेटौंडा आउने क्रम अहिलेसम्म जारी छ । जसका कारण हेटौंडामा पछिल्ला दिन कोरोना संक्रमित देखा पर्न थालेका छन् । मंगलबार हेटौंडा–१० टिसिएन रोडका दुई जना स्थानीयमा कोरोना देखिएपछि हेटौंडा जोखिममा रहेको पुष्टि भएको छ । बजारमा सर्वसाधारणले सामान्य सुरक्षा समेत अपनाएका छैनन् । पसल तथा अन्य सार्वजनिक स्थानमा भिडभाड उस्तै रहेको छ ।

हेटौंडा–१० मा फेला परेका संक्रमितबाट कोरोना समुदायमा फैलिएको हुनसक्ने आकलन गरिएको छ । उनिहरुको ट्राभल हिस्ट्रि हेर्ने काम भइरहेको छ । यो घटनाले अब हेटौंडामा पनि कोरोनाले घण्टी बजाएको संकेत भने दिएको छ । हेटौंडालाई वीरगञ्ज हुनबाट जोगाउन तत्कालै सुरक्षाका उपायहरु अपनाउनुको विकल्प छैन । स्थानीय प्रशासनले लकडाउन, निषेधाज्ञा वा अन्य विधि अपनाएर सर्वसाधारणको भिडलाई नियन्त्रण गर्नुको विकल्प देखिदैन । अहिले पनि बारा, पर्सासहित तराईका जिल्लाबाट सर्वसाधारण निर्वाध रुपमा आइरहेका छन् । तराईका जिल्लामा कोरोनाको उच्च जोखिम रहेको छ । अब वाग्मती प्रदेश सरकारले पनि हेटौंडामा कोरोना फैलिनबाट जोगाउन ध्यान दिनुपर्ने समय आएको छ ।

कोरोनाले लकडाउन भएपछि घर गएका विभिन्न स्थानका सर्वसाधारण हेटौंडा फर्किएका छन् । अझै आउने क्रम जारी रहेको छ । जसले गर्दा हेटौंडा कोरोनाको उच्च जोखिममा पर्ने देखिन्छ । कोरोनाको जोखिमबाट बचाउन समयमै ध्यान दिनु आवश्यक छ । समुदायमा कोरोना फैयो भने यसले भयावह रुप लिने पक्का छ । त्यसकारण सरोकारवाल, नियमनकारी निकायलहरुले तत्काल सुरक्षाका विधिहरु अपनाउनु पर्दछ ।

हेटौंडामा कोरोना संक्रमित देखापर्दा समेत जिल्ला प्रशासन कार्यालय मकवानपुरले ठोस कदम चाल्न सकेको छैन । तराईका जिल्लाबाट प्रवेश गर्ने मुख्य नाका हेटौंडा भएपनि प्रशासनले यसलाई गम्भीर रुपमा लिएको देखिदैन । अहिले पनि रातोमाटे नाकाबाट हेटौंडा प्रवेश गर्नेको लर्को कायमै छ । अझै पनि प्रशासन पर्ख र हेरको अवस्थामा देखिन्छ । आवश्यक परे कफ्र्यु लगाइन्छ भन्ने धारणा बाहिर ल्याइपनि आवश्यक कहिले र के भएपछि पर्छ भन्नेमा अहिलेसम्म प्रशासन स्पष्ट छैन । नाकामा कोरोना परीक्षणको व्यवस्था अहिलेसम्म हुन सकेको छैन । परिस्थिति बिग्रिएपछि रुवाबासी गर्नुभन्दा अहिले नै सर्तकता अपनाउनु उपयुक्त होला ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*