वाग्मती प्रदेश सरकारले बनायो ३२ वटा पुल, अर्को वर्ष सय वटा बनाउने

बाइलाइन नेपाल
७ श्रावण २०७७, बुधबार १८:५८

हेटौँडा । वाग्मती प्रदेश सरकार गठन भएपछि निर्माण भएका पुलको बुधबार एकमुष्ट उद्घाटन गरिएको छ । प्रदेश सरकारले गरेका ठूला काम मध्येमा पर्ने ३२ वटा पुल निर्माणको मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् । राजधानी हेटौंडामा भौतिक पूर्वाधार विकास मन्त्रालयको सभाहलबाट उनले पुलहरुको उद्घाटन् गरेका हुन् ।

कार्यक्रममा प्रतिनिधित्वको रुपमा मकवानपुरको कैलाश गाउँपालिकामा रहेको दुवोखोला पुल उद्घाटन् गरेर मुख्यमन्त्री पौडेलले विभिन्न् जिल्लामा निर्माण गरिएका ३२ वटा पुलको एकमुष्ट उद्घाटन गरेका हुन् । ४३ औ पुस्पलाल स्मृति दिवसलाई अवसर मान्दै पुल उद्घाटन् गरिएको हो । चालु आर्थिक वर्षमा सरकारले एक सय वटा पुल निर्माण गर्ने बताइएको छ ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आफ्नो कामलाई निरन्तर अघि बढाईराखेको बताए । उनले अब प्रदेशले गरको कामको नतिजाहरु देखिदै जाने दाबी गरे । अहिलेसम्म प्रदेश सरकार नीति निर्माणसहित व्यवस्थापनमा लागेकाले काम कम भएको हो कि जस्तो देखिएको थियो । अब सरकारले एउटा लय समातेकाले नतिजा देखिँदै जाने मुख्यमन्त्री पौडेलको भनाई छ । उनले सरकारले गरेका कामलाई स्वस्थ्य रुपमा बाहिर ल्याउन सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै भौतिक योजना तथा विकास मन्त्री रामेश्वर फुँयालले प्रदेश सरकारले चालु आर्थिकवर्ष भित्र एक सय वटा पुल निर्माण सम्पन्न गरिसक्ने दाबी गरे । प्रदेश सरकारले विगत दुईवटा आर्थिक वर्ष भित्रमा ३२ वटा पुल सहित एक हजार तीनसय किलोमिटर सडक निर्माण सम्पन्न गरेको जानकारी दिए ।

प्रदेश सरकारले सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ६ वटा पुल निर्माण सम्पन्न गरेको छ भने रसुवा बाहेक प्रदेशका सबै जिल्लामा पुलहरु निर्माण सम्पन्न भएका छन् । आगामी एक महिनाभित्र अरु डेढ दर्जन पुल तयार हुने जनाइएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यलय सिन्धुपाल्चोकले दोलखा र सिन्धुपाल्चोकमा गरी सबैभन्दा धेरै ९ वटा पुल निर्माण सम्पन्न गरेको छ ।
त्यस्तै पूर्वाधार विकास कार्यलय, ललितपुर र पूर्वाधार विकास कार्यालय, काभ्रेले छ÷छ वटा, पूर्वाधार विकास कार्यालय, चितवनले ५ वटा, पूर्वाधार विकास कार्यालय, नुवाकोटले चारवटा र पुर्वाधार विकास कार्यालय, रामेछापले दुईवटा पुल निर्माण सम्पन्न गरेकाछन् । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले प्रदेशका कुनैपनि क्षेत्रलाई विकट क्षेत्रको रुपमा नछोडिने बताउनुभयो ।

मन्त्री फुँयालले प्रचुर सम्भावनाले घेरिएर रहेको तर सडक सञ्जालका हिसाबले मात्र पछाडि परेको विभिन्न क्षेत्रलाई प्रदेशको सुविधासम्पन्न, पर्यटकीय तथा आकर्षक स्थलको रुपमा विकास गर्न प्रदेश सरकारका अन्य मन्त्रालय तथा मुख्यमन्त्री डोरमणि पौडेल एवं संघीय सरकारसंग समेत छलफल गरेर अगाडि बढ्ने बताए । “प्रदेशको सबैभन्दा विकट धादिङको रुवीभ्याली, काभ्रेको महाभारत, मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिका हो, तर अब ती स्थानहरुलाई सुगम बनाउन प्रदेश सरकार लागि पर्छ” मन्त्री फुयालले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*