बाढीपहिरोबाट बचाउन राक्सिराङमा स्वयम्सेवक परिचालन

बाइलाइन नेपाल
६ श्रावण २०७७, मंगलवार ०९:०८

हेटौंडा । सम्भावित प्राकृतिक विपदको घटनामा तत्काल उद्दार र आवश्यक सहयोगको लागि खटिनको लागि मकवानपुरको राक्सिराङ गाउँपालिकाले ९ वटै वडामा स्वयम्सेवक परिचालन गरेको छ । प्रत्येक वडामा ५ जनाका दरले ४५ जना स्वयम्सेवकलाई सोमबार एकदिने प्रशिक्षण दिई वडामा पठाएको हो ।

गाउँपालिका कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रमपछि उनीहरुलाई आवश्यक सुरक्षा सामाग्री हस्तान्तरण गरी वडामा पठाइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । टोलमा रहेका सक्रिय युवाहरुमध्येबाट वडा कार्यालयको सिफारिसको आधारमा गाउँपालिकाले स्वयम्सेवकको रुपमा खटाएको हो ।
स्वयम्सेवक युवालार्ई टिर्सट, टर्च लाइट, हाते आरो, स्टेचर, डोरी, बेल्चा, सुरक्षित कपडा, हेलमेटलगायतका सामाग्री गाउँपालिकाले प्रदान गरेको छ । उनीहरु गाउँमा हुनसक्ने प्राकृतिक प्रकोपको घटनामा उद्दार र आवश्यक सहयोगको लागि साउन र भदौ महिनाभर उच्च सतर्कताका साथ रहनेछन् ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईको अध्यक्षतामा भएको स्वयम्सेवक प्रशिक्षण तथा सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपानेले स्वयम्सेवकहरुलाई प्रशिक्षण दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*