मकवानपुरका निजी विद्यालयका शिक्षकहरुले घोषणा गरे आन्दोलनका कार्यक्रम

बाइलाइन नेपाल
४ श्रावण २०७७, आईतवार ०९:२१
फाइल तस्वीर

हेटौंडा । मकवानपुरका निजी विद्यालयहरुले वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप (अनलाइन कक्षा) बन्द गरेपछि शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । आइतबारबाट मकवानपुरका सबै निजी विद्यालयले अनलाइन कक्षा बन्द गरेर शिक्षकलाई बेतलब बिदा दिएपछि शिक्षकहरुको संगठनले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

संस्थागत शिक्षक युनियन राष्ट्रिय समिति (इष्टु) जिल्ला समन्वय समिति र नगरकार्य समितिले आज संयुक्त वक्तव्य निकाल्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । इष्टु मकवानपुरका अध्यक्ष सचिन लामा र हेटौंडा नगरका अध्यक्ष सिएम रिमालद्वारा जारी वक्तव्यमा साउन ५ गतेदेखि ८ गतेसम्म प्याब्सन र एनप्यााब्सनको निर्णय विरुद्ध विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

साउन ५ गते प्याब्सन र एनप्यााब्सनको तालाबन्दी गर्ने र विरोध पत्र टाँस्ने, साउन ६ गते बुद्धचोकमा कोणसभा गर्ने, साउन ७ गते मुख्यमन्त्री कार्यालयमा धर्ना दिने र साउन ८ गते हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समितिको कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको उल्लेख छ । इष्टुको राष्ट्रिय समितिको निर्णय अनुसार आन्दोलनको कार्यक्रम घोषणा गरिएकाले सबै शिक्षक कर्मचारीलाई सरिक हुन वक्तव्यमा आग्रह गरिएको छ । अनलाइन कक्षा बन्द गरेर शिक्षक कर्मचारीलाई बेतलबी बिदा दिने निर्णयको संस्थागत शिक्षक युनियन राष्ट्रिय समितिले विरोध गर्दै आन्दोलनमा उत्रने निर्णय गरेको थियो ।

उता प्याब्सन तथा नेसनल प्याब्सनले यस शैक्षिक सत्रमा ११ महिनाको मासिक शुल्क क्रमशः भुक्तानी गर्दै जान अभिभावकहरुलाई आह्वान गरेको थियो । तर त्यसको चौतर्फी विरोध भयो । सरकारले पनि अनलाइन कक्षाका नाममा शुल्क नदिन निर्देशन दियो । तर निजी स्कुलका सञ्चालकहरुले भने आम्दानी शून्य भएका कारणले शिक्षक–कर्मचारीलाई वैशाखदेखि तलब दिन नसकेको तथा घरभाडा, बैंकको किस्ता तथा ब्याज, बिमा, टेलिफोन, बिजुली, इन्टरनेट खर्च धान्न नसक्ने अवस्था आएको बताएका छन् ।

यसबारे शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउँदा जायज माग सम्बोधन गर्ने मौखिक आश्वासन आएको तर अहिलेसम्म ठोस निकास नआएको प्याब्सन तथा एन प्याब्सनले बताएको छ । यस्तो अवस्थामा विद्यालयका प्रशासनिक कार्यालयहरु खोलेर गतिविधि सञ्चालन गर्नुभन्दा बन्द गरेर बस्नु नै उचित विकल्प हो भन्ने आफूहरुलाई महशुस भएको दुबै संगठनले संयुक्त वक्तव्यमा उल्लेख थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*