मकवानपुरका निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा, विद्यार्थी अध्ययनबाट बञ्चित

बाइलाइन नेपाल
४ श्रावण २०७७, आईतवार ०८:५६

हेटौंडा । मकवानपुरका निजी विद्यालयहरुले वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप (अनलाइन कक्षा) बन्द गरेका छन् । कोरोना भाइरसका कारण नयाँ शैक्षिकसत्रबाट विद्यालय सञ्चालन गर्न नपाएपछि निजी विद्यालयहरुले अनलाइनको माध्यमबाट पढाउदै आएका थिए । तर आज आइतबारबाट मकवानपुरका सबै निजी विद्यालयले अनलाइन कक्षा पनि बन्द गरेका छन् । जसले गर्दा विद्यार्थी पठनपाठनबाट बञ्चित हुन पुगेका छन् ।

निजी विद्यालय सञ्चालकहरुको संगठन प्याब्सन–एनप्याब्सनले साउन १ गतेदेखि वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयको पालना गर्दै मकवानपुरका निजी विद्यालयले अनलाइन कक्षा बन्द गरेका हुन् । अनलाइन कक्षा सञ्चालन नगरेका विद्यालयले टोलटोलमा सामूहिक रुपमा पढाउदै आएका थिए । उनिहरुले पनि त्यसलाइृ बन्द गरेका छन् ।

मकवानपुरका निजी विद्यालयले शुक्रबार र शनिबार अभिभावकहरुलाई प्याब्सन, एनप्याब्सन केन्द्रको निर्णय अनुसार कक्षा बन्द गर्नुपरेको उल्लख गर्दै सूचना पठाएका छन् । अनलाइन कक्षा बन्द भएपछि विद्यार्थीहरु पठनपाठनबाट बञ्चित भएका छन् ।

प्याब्सन तथा नेसनल प्याब्सनले यस शैक्षिक सत्रमा ११ महिनाको मासिक शुल्क क्रमशः भुक्तानी गर्दै जान अभिभावकहरुलाई आह्वान गरेको थियो । तर त्यसको चौतर्फी विरोध भयो । सरकारले पनि अनलाइन कक्षाका नाममा शुल्क नदिन निर्देशन दियो । तर निजी स्कुलका सञ्चालकहरुले भने आम्दानी शून्य भएका कारणले शिक्षक–कर्मचारीलाई वैशाखदेखि तलब दिन नसकेको तथा घरभाडा, बैंकको किस्ता तथा ब्याज, बिमा, टेलिफोन, बिजुली, इन्टरनेट खर्च धान्न नसक्ने अवस्था आएको बताएका छन् ।

यसबारे शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउँदा जायज माग सम्बोधन गर्ने मौखिक आश्वासन आएको तर अहिलेसम्म ठोस निकास नआएको प्याब्सन तथा एन प्याब्सनले बताएको छ । यस्तो अवस्थामा विद्यालयका प्रशासनिक कार्यालयहरु खोलेर गतिविधि सञ्चालन गर्नुभन्दा बन्द गरेर बस्नु नै उचित विकल्प हो भन्ने आफूहरुलाई महशुस भएको दुबै संगठनले संयुक्त वक्तव्यमा उल्लेख थियो ।

तर अनलाइन कक्षा बन्द गरेर शिक्षक कर्मचारीलाई बेतलबी बिदा दिने निर्णयको शिक्षक कर्मचारीले भने विरोध गरेका छन् । संस्थागत शिक्षक युनियन राष्ट्रिय समिति (इष्टु) ले निर्णय सञ्याउन माग गरेको छ । निर्णय नसच्याए आन्दोलनमा उत्रने चेतावनी इष्टुले दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*