थाहा नगरपालिकाले गर्यो उत्कृष्ट तीन कर्मचारीलाई सम्मान

बाइलाइन नेपाल
३ श्रावण २०७७, शनिबार १७:२३

हेटौंडा । बेरुजु फछ्र्यौटमा मकवानपुरको थाहा नगरपालिका देशमै सर्वोउत्कृष्ट भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरस्कृत गरेपछि कार्यालयका कर्मचारीहरुको योगदानलाई कदर गर्दै नगरपालिका कार्यालयले सम्मान गरेको छ ।

आज भएको थाहा नगरकार्यपालिका बैठकको अवसरमा नगर प्रमुख लवशेर विष्ट तथा उपप्रमुख खड्ग गोपालीले प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र लेखा अधिकृत विष्णु भुषाललाई प्रशंसापत्र सहित सम्मान गरेको हो । सो अवसरमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा अनलाईन प्रणालीबाट प्रभावकारी कार्य संचालन गरेकोमा उक्त शाखा प्रमुख सुरजकुमार भुजेल पनि प्रशंसित भएका छन् । थाहा नगरपालिकालाई २०७४ सालमै पञ्जिकरण विभागले अनलाईन प्रणालीमा सेवा संचालन गरेकोमा सम्मान गरेको थियो ।

आर्थिक वर्ष २०७४/०७५ सम्मको बेरुजु अंकको ९६.०६ प्रतिशत फछ्र्यौट गरेकोमा थाहा नगरपालिलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० असारमा पुरस्कृत गरेको थियो । थाहा नगरपालिका यस वर्षका लागि देशकै एक मात्र पुरस्कृत स्थानीय तह हो । आर्थिक वर्ष २०७५/ ०७६ को लेखापरीक्षणबाट जम्मा २.५४ प्रतिशत बेरुजु कायम गरी सर्वोत्कृष्ट कार्य गरेको ठहरसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थाहा नगरपालिकालाई देशभरकै सर्वोत्कृष्ट घोषणा गरेको हो। असार ३० गते नेपाल सरकार सचिवस्तरको निर्णयबाट निर्णयसहित घोषणा गरिएको थियो ।

कार्यक्रममा नगरपालिकाको बेरुजु फछ्र्यौट कार्य तथा अनलाईन प्रणालीमा उल्लेख्य योगदान पु¥याउन सफल भएकोमा नगर प्रमुख विष्टले सम्मानसहित प्रशंसा गरे । सामुहिक कार्यबाटै सफल हुने भएकोले नगरमा उक्त टिम सक्षम रहेको र प्रमुख प्रशासकीय अधिकृत तथा लेखा अधिकृतसहितको टिम अब्बल रहेको धारणा राखे । उनले सबैलाई बधाईसहित धन्यवाद दिए । नगर उपप्रमुख खड्ग गोपालीले सामुहिक कार्यबाटै सफलता चुम्ने भएकोले थाहानगरमा ति सामुहिक कार्यहरु परिणाममुखी रहेको बताए । जनप्रतिनीधि र कर्मचारहिरुको अथक प्रयास नै सफलताको कडि भएको उल्लेख गरे ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जनप्रतिनीधिहरुको अब्बल टिमका कारण प्रशासनिक कामकाजमा सहज र प्रतिफलमुखी बनाउन सफल भएको बताए । सम्पुर्ण नगरको सफलता नगर प्रमुख विष्टको नेतृत्वकै सफलता झल्कने भएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत पुरीले सबै जनप्रतिनीधिहरुको प्रशंसा गरे । कार्यालयको सबै प्रशासनिक कार्यमा जनप्रतिनीधिहरुको उत्तिकै सहयोग र सद्भाव रहेकोले नगरले प्राप्त गरेको सफलतालाई टिकाई अरु सफलता चुम्नका लागि कर्मचारी टिम अग्रसर हुने बताए ।

कार्यक्रममा नगरपालिकाको कार्य सम्पादन तथा सेवा प्रवाहमा प्रभावकारी योगदानको कदर गर्दै पालिकाका सबै महाशाखा, शाखा प्रमुख तथा वडा सचिवहरुलाई टिका र खादा लगाएर प्रमुख विष्ट तथा उपप्रमुख गोपालीले सम्मान गरेका थिए । कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्यहरु, कर्मचारीहरुलगायतको सभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*