थाहा नगरमा अनलाइन पढाइ बन्द गर्ने निर्णय (विज्ञप्तीसहित)

बाइलाइन नेपाल
२ श्रावण २०७७, शुक्रबार २०:०६

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा रहेका निजी विद्यालयहरुले वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप ( अनलाई शिक्षा) बन्द गर्ने निर्णय गरेको छ । निजी तथा आवाशिय बिद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) को केन्द्रीय निर्देशन अनुसार थाहा नगरमा रहेका विद्यालयले अनलाइन कक्षा बन्द गरेका हुन् ।

निजी तथा आवाशिय विद्यालय अर्गानाइजेशन नेपाल थाहा नगर कमिटीको शुक्रबार बसेको बैठकले अर्को सूचना जारी नहुन्जेलसम्म हाल सन्चालित बैकल्पिक शिक्षण कृयाकलाप बन्द गर्ने निर्णय गरेको छ । कमिटीका अध्यक्ष सुरेन्द्रमान प्रधान र सचिव संगम कार्कीद्वारा जारी विज्ञप्तीमा सरकारले संगठनको माग बेवास्ता गरेकाले हाल निजी विद्यालयले सञ्चालन गरेका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको उल्लेख छ ।

तर संस्थागत विद्यालय शिक्षक युनियन राष्ट्रिय समितिले प्याब्सन, एनप्याब्सनलाई निर्णय सच्याउन आग्रह गरेको छ । उक्त निर्णय तत्काल सच्याउन माग गर्दै संस्थागत शिक्षक युनियन राष्ट्रिय समितिले आज विज्ञप्ती जारी गर्दै ३ दिन भित्र निर्णय नसच्याए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । लामो समयदेखि शिक्षकले तलब नपाएको अवस्थामा राज्यले पनि समस्याको समाधान गर्न तत्काल पहल थाल्न आग्रह गरिएको छ ।

लकडाउनको बहानामा अघिल्लो आवको तलब पनि नदिने र अहिले रोजिरोटी खोस्न गैरजिम्मेवार र गैरकानूनी काम नगर्न समितिले प्याब्सन, एनप्याब्सनलाई आग्रह गरेको छ । विज्ञप्तीमा निकासका लागि नेपाल शिक्षक महासंघ, अभिभावक महासंघलगायत सरोकारवाल निकायको ध्यानाकर्षण गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*