सिन्धुपाल्चोकका पहिरो पीडितको घर प्रदेश सरकारले निर्माण गरिदिने

बाइलाइन नेपाल
२ श्रावण २०७७, शुक्रबार १९:१६

हेटौंडा । सिन्धुपाल्चोकमा बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गर्ने भएको छ । स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पीडितहरुका लागि घर निर्माण गरिदिने बागमती विपद ब्यवस्थापन निर्देशक समितिको शुक्रबार बसेको बैठकले निर्णय गरेको हो ।

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितहरुलाई तत्काल राहत पनि उपलब्ध गराउने भएको छ । समितिका अध्यक्ष प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले क्षतिको अवस्था हेरि तत्काल स्थानीय तहमार्फत् राहत उपलब्ध गराउन लागेको हो । समितिले बाह्रबिसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री पौडेलले जानकारी दिए । सो रकमबाट स्थानीय तहको कार्यविधि अनुसार राहत, घाईतेको उपचार, पुनस्थापनालगायतका काम गर्न सक्नेछ । यस्तै यस अघि प्रदेश सरकारले निर्णय गरेको मृतकका परिवारलाई राहत रकम १ लाख रुपैयाँ पनि तत्काल उपलब्ध गराईने समितिले जनाएको छ । आईतबारसम्म राहत रकम स्थानीय तहमा पठाईने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

शुक्रबार नै बसेको समितिको बैठकले समितिमा ३ जना प्रदेशसभा सदस्यलाई मनोनित गरेको छ । समितिका सदस्यहरुमा राजेन्द्रमान श्रेष्ठ, छिरिङ दोर्जे लामा र ईन्द्रमाया गुरुङलाई मनोनित गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकाराम जम्कट्टेलले जानकारी दिए । बैठकमा उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्री अरुण नेपाल, भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता ईन्द्र बानियाँलगायत मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*