सुस्मिता हत्याकाण्ड प्रकरणः चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

बाइलाइन नेपाल
३१ असार २०७७, बुधबार १५:२४

हेटौँडाकी सुस्मिता केसी (थापा) को हत्या आरोपित ससुरासहित ४ जनालाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बुधबार न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले सुस्मिताको हत्यामा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

हत्या आरोपी ससुरा ५८ वर्षीय प्रकाश थापालाई भीमफेदी कारागार पठाइएको छ । सासू ५० वर्षीया तुलसाकुमारी थापा, जेठी नन्द दुर्गा थापा कार्की र कान्छी नन्द सीता थापालाई चितवन कारागार पठाइएको स्रेस्तेदार भट्टराईले जानकारी दिए ।जिल्ला सरकारी वकिलकाे कार्यालयले सुस्मिता हत्याको आरोपमा ससुरा, सासूसहित नन्दहरू र ज्वाइँ अरुण कार्कीविरुद्ध आइतबार जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।

सरकारी वकिलको कार्यालयले हत्यामा संलग्न ससुरा प्रकाश र कान्छी नन्द सीतालाई आजीवन कैद सजायको माग दाबी गर्दै अभियोगपत्र दायर गरेको छ । अभियोगपत्रमा घटनाको मतियारको रूपमा सासू तुलसालाई १२ वर्ष जेल सजाय तथा जेठी नन्द दुर्गा र उनका श्रीमान् अरुण कार्कीलाई हत्याको षड्यन्त्र बनाएको दाबीसहित २५ वर्ष कैद माग गरिएको छ । कार्की फरार छन् । उनको खोजी गरिरहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

सुस्मिताको १ असारकाे राति करिब १० बजे घरको भान्सा कोठामा ससुरा प्रकाश र नन्द सीताले काठको लौरो र मसला पिस्ने लोहोरेले हानेर वीभत्स हत्या गरेको मकवानपुर प्रहरीको दाबी छ ।खाना खाइरहेको अवस्थामा सुस्मिताको टाउकोमा ससुराले काठको लौरो प्रहार गरेका थिए । त्यसलगत्तै सीताले लोहोरोले टाउकोमा हानेर सुस्मिताको हत्या गरेको प्रहरीले जनाएको छ ।

कपिलवस्तु माइती भएकी मृतक सुस्मिताले हेटौँडाका रुपेन्द्र थापासँग विवाह गरेकी थिइन् । रुपेन्द्रको ससुरालीबाट हेटौँडा फर्किंदै गर्दा नवलपारीको दाउन्नेमा विवाह गरेको ६ महिनापछि मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको थियो । उनको मृत्युपछि सुस्मिताकै कारण आफ्नो छोरोले ज्यान गुमाएको भन्दै घर पक्षले मानसिक तनाव दिँदै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*