यस्ता छन् थाहा नगरपालिकाको पर्यटक भित्र्याउने गुरुयोजना

बाइलाइन नेपाल
३१ असार २०७७, बुधबार १२:२१

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्यटक भित्र्याउनका लागि जोड दिएको छ । थाहा नगरपालिकाले आउँदो आर्थिक वर्षमा पर्यटन प्रवर्दनका लागि विशेष जोड दिएको हो । मकवानपुरको उत्तरी क्षेत्र पर्यटनका हिसावले पनि महत्वपूर्ण क्षेत्र भएकाले यसतर्फ जोड दिइएको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले बताए ।

पर्यटन प्रवद्र्धनका लागि नगर पर्यटन गुरुयोजना निर्माण भइसकेकोले पर्यटन गुरुयोजनाले पहिल्याएका क्षेत्रहरुमा आधारित भएर पर्यटन विकासका योजनाहरु संचालन गरिने बताइएको छ । निजी क्षेत्रको समेत सहकार्यमा चित्लाङ चन्द्रागिरी भन्ज्याङमा पार्क सहितको भ्यू टावर निर्माण गर्न संभाव्यता अध्ययन भई निर्माण प्रारम्भ भएकोमा पूर्णताको लागि वाग्मती प्रदेश सरकार समक्ष पहल गरिने मेयर विष्टले बताए ।

नगरस्तरीय पर्यटन विकास बोर्ड गठन गरी पर्यटनको विकासमा जोड दिइने नगरपालिकाले जनाएको छ । चन्द्रागिरी–दामन–सिमभन्ज्याङ ट्रेकिङ ट्रेल र साइकल रुट निर्माणको लागि कार्यारम्भ भएकोमा सम्पन्न गर्नको लागि संघ तथा प्रदेश सरकारलाई अनुरोध गरिने बताउँदै मेयर विष्टले भने–‘दामन क्षेत्रमा सार्वजनिक जग्गा पहिचान गरी पर्वतीय सम्मेलन केन्द्र निर्माणको लागि कार्य प्रारम्भ गरिनेछ । ऋषेश्वर, गोरखनाथ, इन्द्रायणी, पाण्डुकेश्वर, कुटेश्वरी, बज्रवाराही, नन्दीकेश्वर, उन्मत्तेश्वर, चम्पकेश्वर, स्वच्छन्दभैरव, गालवेश्वर मन्दिर, गौखुरेश्वर, सितापाइला, झम्केश्वरी, बागेश्वरी, मनकामना, सेति गणेशलगायत अन्य धार्मिक क्षेत्रहरुलाई धार्मिक पर्यटनको रुपमा भौतिक पूर्वाधार निर्माण गर्दै लगिनेछ ।’

मूलाबारी चौरलाई राष्ट्रिय विभूति पार्क र कोटथुम्कीलाई पर्यटन प्रवद्र्धन गर्न डिपीआर समेत तयार भइसकेको हुँदा पूर्वाधार निर्माणको कार्य थालनी गरिने नगरपालिकाको योजना रहेको छ । दामन पिकनिक स्पट, डाँडाबासको स्मारक पार्क पिकनिक स्पट, बाराही डाँडा पिकिनिक स्पटलाई पिकनिक स्पटको रुपमा विकास गर्न कार्य प्रारम्भ गरिने तयारी पनि छ । सार्वजनिक जग्गाहरुको पहिचान गरी पर्यटन व्यवशाय संचालन गर्न जग्गा माग भै आएमा नगरसभाबाट निर्णय गराई जग्गा भाडामा उपलब्ध गराउन सम्बन्धीत निकायहरुमा पहल गरिने भएको छ । नगरका विभिन्न संभाव्य स्थानहरुमा बञ्जिजम्प, प्याराग्लाइडिङ, रकक्लाइमिङ, जिप फ्लाइङ, जस्ता सहासिक पर्यटन व्यवशाय संचालन गर्न चाहने व्यवशायीहरुलाई तत्काल व्यवसाय संचालन गर्न स्वीकृती दिइने व्यवस्था मिलाइने उनले जानकारी दिए । भीमफेदी–सिमभञ्ज्याङ केवलकार संचालन गर्नको लागि प्रारम्भिक अध्ययन भइसकेको र आगामि आर्थिक वर्षमा लगानीकर्ताहरुको खोजी गरी कार्य प्रारम्भ अघि बढाइने भएको छ ।

बज्रवाराहीमा थाहा संग्राहलय र चित्लाङमा पर्यटन सूचना केन्द्र निर्माण कार्य थालनी गरिने थाहा नगरपालिकाको आगामी वर्षको योजना रहेको छ । पर्यटकहरुलाई सहज ढंगबाट थाहा नगरपालिका आवागमनको लागि चित्लाङ चन्द्रागिरी सडक र कुन्छाल कुलेखानी सडकको स्तरोन्नती गरि कालोपत्रे गर्ने कार्य शुरु भएकोमा पूर्णता दिन संघ तथा प्रदेश सरकार समक्ष पहल भइरहेको मेयर विष्टले बताए । त्रिभूवनराजपथको मर्मत संभारको लागि संघीय सरकारबाट बजेट विनियोजन भएकोले समयमै कार्यान्वन गर्न अनुरोध गरिने बताइएको छ । पर्यटकहरुलाई गाइड गर्न पर्यटक गाइडको तालिम संचालन गरिनेछ ।

पर्यटकहरुलाई थाहानगर घुमफिर गराउनको लागि ट्राभल एजेन्सीहरुलाई आकर्षित गराउन ट्राभल एजेन्सीहरुको सम्मेलन थाहा नगरपालिकामा गराउनको लागि पहल गरिने भएको छ । पर्यटकहरुका लागि थाहा नगरपालिकाको निर्मित घरेलु उत्पादन बिक्रि वितरणको लागि कोशेली घरको निर्माण तथा संचालनमा अनुदान उपलब्ध गराइने भएको छ । पर्यटकहरको सुरक्षालाई मध्येनजर गर्दै मुख्य मुख्य पर्यटकीय क्षेत्रमा थप सुरक्षा व्यवस्था मिलाउन पहल गरिने भएको छ । नगरका मुख्य क्षेत्रहरु सुरक्षा व्यवस्थालाई मजबुद गराउन नगर प्रहरीको व्यवस्था गरिने योजना वनाइएको छ । पर्यटकहरुलाई मुख्य मुख्य भ्यू प्वाइन्टहरुमा बिश्राम स्थल सहितको पूर्वाधार निर्माण कार्य अगाडि बढाइनेछ । थाहानगरमा आउने पर्यटकको रेकर्ड अपडेट गर्नको होटल एशोसियन तथा पर्यटन व्यवशायीहरुसंग सहकार्य गरिने मेयर विष्टले जानकारी दिए।

थाहानगरमा संचालनमा रहेका होमस्टेहरु अभिलेखीकरण गरी मापदण्ड विपरित संचालन रहेको पाइएमा त्यस्ता होमस्टेहरुलाई होटल रेष्टुरेन्ट र रिसोर्टको रुपमा परिवर्तन गरी कार्याविधि निर्माण गरी करको दायरामा ल्याइने भएको छ । थाहानगरमा संचालनमा रहेका होमस्टेहरुको थप प्रवद्र्धन र विकास गरिनेछ । थाहानगरको पर्यटकीय क्षेत्रहरुको विशेषता समेटीएको प्रचार सामाग्रीका लागि निजी क्षेत्रको समेत सहभागितामा निर्माण तथा वितरणमा प्राथमिकता दिइने तयारी छ । नगरमा एग्रोटुरिजम विकास गर्ने उद्देश्यसहित कार्यक्रम तर्जुमा गरिनेछ ।

थाहा ८ को सप्तकन्या गुफा, हाँडी दह, बाथानचुलीको भग्नावशेष दरबार लगायत थाहा ११ को नर्बे ढुङ्गाको प्रचारप्रसार तथा विकासमा जोड दिइने उनले बताए । महांकाल, लाली गुराँस र सुनगाभा पैदलमार्गलाई प्रवद्र्धन गरिनेछ । पर्यटन प्रवद्र्धनका लागि मूर्तिकला, हस्तकलामा आधारित प्रवद्र्धनात्मक कार्य संचालन गरिनेछ । अशोक कालिन चैत्य, लक्ष्मी प्रसाद चौतारो, लिच्छवीकालिन शिलालेख ऐतिहाँसिक दरबारहरु, गुम्बा र मठमन्दिरहरु संरक्षण तथा प्रवद्र्धन गरिनेछ । संभावित पर्यटकीय स्थलको पहिचान गरी त्यस्ता क्षेत्रहरुको विकास गर्न निजी क्षेत्रलाई लिजमा दिइने व्यवस्था गरिने आगामी आर्थिक वर्षमा योजना वनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*