अस्ताइन् कम्युनिस्ट आन्दोलनकी ‘आमा’ बालकुमारी थापा

बाइलाइन नेपाल
३० असार २०७७, मंगलवार १३:१७

नेपालको कम्युनिस्ट आन्दोलनकी ‘आमा’का रूपमा चिनिएकी बालकुमारी थापाको सोमबार निधन भएको छ । हेटौँडा उपमहानगरपालिका- १७ राजदेवीकी थापा कम्युनिस्ट आन्दोलनकी नेतृसमेत हुन् । उनको ७६ वर्षको उमेरमा सोमबार बेलुका हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।

नेकपा मकवानपुरका सबै नेताले उनलाई ‘कम्युनिस्टकी आमा’ नामले चिन्छन् । २०२० सालदेखि नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध थापा अखिल नेपाल महिला संघ मकवानपुरकी संस्थापक अध्यक्ष हुन् । थापा १७ वर्षको युवा उमेरमै कम्युनिस्ट पार्टीको सदस्यको रूपमा सक्रिय भइन् । तत्कालीन पञ्चयातकालमा उनको घरलाई कम्युनिस्ट पार्टीका नेताहरूले सेल्टरको रूपमा प्रयोग गर्ने गरेका थिए ।

थापाले तत्कालीन नेकपा मालेका नेता भूमिगत हुँदा घरमा सेल्टर दिएकी थिइन् । त्यति मात्र होइन, तत्कालीन मालेको केन्द्रीय कमिटीको बैठक पनि उनको घरमा भएको थियो । हालका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, पार्टीका तत्कालीन महासचिव मदन भण्डारी, नेता जीवराज आश्रित, मालेका महासचिव सीपी मैनाली, नेकपाका नेता प्रदीप नेपाललगायतका नेतालाई उनले सेल्टर दिएकी थिइन् । विगत ५० वर्षदेखि उनी समाज परिवर्तनका खातिर सक्रिय थिइन् ।

उनकै घरमा तत्कालीन नेकपा मालेको महिला सङ्गठनको राष्ट्रिय तयारी भेला पनि भएको थियो । उनका श्रीमान् र ३ छोरा छन् ।कम्युनिस्ट आन्दोलनकी धरोहर थापा विगत १५ वर्षदेखि मुटु रोगले थलिएकी थिइन् । उनलाई रोगले धेरै चापेपछि हेटौँडा अस्पतालमा ल्याएको थियो । मुटुरोगवाट ग्रसित थापा विगत केही महिनादेखि थला परेकी हुन् । मंगलबार बिहान उनको दाहसंस्कार गरिएको छ । उनको पार्थिव शरीरमा नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेलगायतले कम्युनिस्ट पार्टीको झण्डा ओढाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*