भीमफेदीमा रहेको ऐतिहासिक हात्तीसार संग्रहालयको यसरी गरिदैछ संरक्षण

बाइलाइन नेपाल
२९ असार २०७७, सोमबार १३:१२

हेटौंडा । संरक्षणको अभावमा जिर्ण हुँदै गएको मकवानपुरको भीमफेदी गाउँपालिका– ६ मा रहेको ऐतिहासिक हात्तीसारको संरक्षणको थालनी भएको छ । हात्तीसार संग्रहालय तथा मत्स्य प्रदर्शन कक्षको संरक्षण गर्दै पर्यटकिय स्थलको रुपमा विकास गर्न थालिएको हो । बाग्मती प्रदेश सरकारको पर्यटन क्षेत्र विकास अन्तर्गत राणाकालिन हात्तीसार संग्रहालय तथा मत्स्य प्रदर्शन कक्षको पुनर्निर्माण कार्य थालिएको छ ।

उक्त स्थलमा करिब २५ रोपनी जग्गामा पक्की पर्खाल लगाउने कार्य सँगसँगै मनोरम मैत्री बगैंचा स्थल बनाउन प्रदेश सरकारले काम सुरु गरेको छ । हाल उक्त हात्तीसार स्थलमा वन कार्यालयको कार्यालय स्थापना गरिएको छ भने अतिक्रमण भएको जग्गाहरु वन कार्यालय मातहतमा ल्याएर घेराबार लगाएर संरक्षण्सँगै विकासको थालनी गरिएको छ ।

उक्त हात्तीसारमा राणाकालिन हात्तीका हौदाहरु बेलायती महारानी द्धितिय एलिजावेथले प्रयोग गरेको हौदा र थुप्रै ऐतिहासिक सामग्रीहरु रहेको छ जसलाई मर्मतसम्भार पछि संग्रहालयको रुपमा परिवर्तन गर्ने योजना प्रदेश सरकारको रहेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्वामित्वमा रहेको ऐतिहासिक महत्व बोकेको हात्तीसार संग्रहालय प्रदेश सरकार अन्तर्गतको डिभिजन वन कार्यालय मातहत ल्याएपछि संरक्षण र विकासको काम सुरु भएको हो । हात्तीसारको संरक्षणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरेको थियो । विनियोजित रकमले ३२ रोपनी जग्गामा फैलिएको हात्तीसार क्षेत्रमा कम्पाउण्ड, बाटो तथा हात्तीसारको भवन अगाडि २ वटा हात्तीको मूर्ति बनाउने योजना अन्र्तगत काम भइरहेको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।

यस्तो छ हात्तीसारको इतिहास
तत्कालिन बेलायती महारानी एलिजावेथ द्वितीय र राणा प्रधानमन्त्री जंगबहादुर राणाले यस ठाउँमा शिकार खेलेको इतिहास छ । संग्रहालयमा बेलायती महारानी एलिजावेथ र जंगबहादुर राणालगायत राणा परिवारले प्रयोग गरेका हौदाहरु छन् । महारानी एलिजावेथले प्रयोग गरेका ४ वटा शिकारी हौदा र जंगबहादुरले प्रयोग गरेका पिँजडा हौदासहित हात्तीसार भवनभित्र ४२ वटा हौदाहरु रहेका छन् ।

हौदामा शिकार खेल्ने व्यक्तिले हात्तीमा राखेर प्रयोग गर्ने शिकारी हौदा, शिकारीको संरक्षणमा जाने भारदारी र खानपानको व्यवस्था गर्नेहरु बस्ने सुसारे हौदा रहेको छ । पूर्वराजपरिवारका सदस्यहरू चितवन, कोसी, शुक्लाफाँट र बर्दिया राष्ट्रिय निकुञ्जमा यहीँबाट हौदा लिएर श्किार खेल्न जाने गरेको स्थानीयको भनाइ छ ।

हात्तीसारमात्रै नभई त्यतिबेला तराईबाट काठमाडौं पुग्ने मुख्य बाटोसमेत यही थियो । त्रिभुवन राजपथ निर्माण हुनुभन्दा अघि भीमफेदी तराई जोड्ने सेतुको रुपमा परिचित थियो । राणाकालमा बेलायती राजा रानीलगायत विदेशी पाहुना हात्तीमा बसेर शिकार खेल्नको निम्ति पनि भीमफेदी नै आउँथे । विगतमा पैदल यात्रुहरुको निम्ति बास बस्न बनाइएका पाटीपौवा र नीजि भवनहरु अहिले जीर्ण छन् ।

हात्तीसारलाई पर्यटकीयस्थलमा परिणत गर्न तत्कालिन सांसद हिरण्यलाल श्रेष्ठले २०५९ जेठमा आधा दर्जन एक्युरियम राखेर आकर्षक बनाएका थिए ।संरक्षणमा निरन्तरता नभएका कारण एक्युरियममा माकुराको जालो लागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*