यस्ता छन् चालु आवमा मकवानपुरगढी गाउँपालिकाले गरेका काम

बाइलाइन नेपाल
२९ असार २०७७, सोमबार ११:५१

हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले चालु आर्थिक वर्षमा प्रत्येक वडामा सडक, खानेपानी, ढल, पुल निर्माणलगायतका काम गरेको छ । गाउँपालिकाले ५ वर्ष आवद्यिक योजना निर्माण गरि “मकवानपुरगढी गाउँपालिकाको समृद्धिको आधारः शिक्षा, कृषि, पर्यटन र पूर्वाधार” भन्ने नारा तय गरेर काम गरिरहेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले बताए ।

गाउँपालिकाले गाउँपालिकाको केन्द्रसम्म आउने तथा गाउँपालिकाको केन्द्रबाट वडा केन्द्रसम्म जाने सडकहरु स्ल्याब ढलान निर्माण गर्ने कार्यक्रम संचालन गरिरहेको छ । गाउँपालिका केन्द्रबाट वडा केन्द्रसम्मको सडक मार्ग १२ महिना नै संचालन गर्न गाउँपालिकाले योजना बनाई अगाडि बढिरहेको उनले जानकारी दिए ।

गाउँपालिकामा पक्की पुलको निर्माण कार्यलाई आवश्यकता अनुसार तिव्रता दिइएको छ । गढी– ५ को ज्यामिरे खोलाको पुल निर्माणको काम पुरा भएको छ । गढीको वडा ३ र ५ जोडने पक्की पुल, वडा ३ र ६ जोडने बेलिब्रिज, वडा ४ र ५ जोडने फलामे पुल आगामी आर्थिक वर्षमा पुरा हुने अध्यक्ष हुमागाईले बताए । आगामी आर्थिक वर्षमा लाँमिडाँडा पक्की पुल, भालुखोला पक्की पुल तथा ज्यामिरे खोला पुलको काम सुरु गरिने छ । गाउँपालिकामा जोडिएका साविकको मकवानपुरगढी गाविस हालको गाउँपालिकाको वडा नम्बर १ देखि ४ सम्मको वडामा रहेको खानेपानी समस्या हल गर्नको लागि ५ वटा खानेपानी योजना संचालन गरि आगामी आव भित्र सबै घरधुरीमा “एक घर एक धारा” को अवधारणा अनुसार स्वच्छ खानेपानी वितरण गर्ने कार्यक्रम सम्पन्न हुने अध्यक्ष हुमागाईले बताए ।

यस गाउँपालिका पर्यटन विकासको प्रचुर संभावना बोकेको गाउँपालिका भएको हुनाले मकवानपुरगढी दरबारमा आवश्यक भौतिक निमाण गरिएको छ । त्यसैगरी मनकामना मन्दिर तथा ऋषेश्वर गुफाको भौतिक सुधार यसै आवमा गरि सकिनेछ । आधारभूत स्वास्थ्य सेवा जनताको नैसर्गित अधिकार भएको हुँदा यस गाउँपालिकाले सबै वडामा आधारभूत स्वास्थ्य सेवाको लागि स्वास्थ्य इकाईहरु स्थापना गरी संचालनमा ल्याइएको अध्यक्ष हुमागाईले जानकारी दिए ।

१५ शैयाको अस्पताल निमार्ण कार्यको लागि यसै आवबाट भवन निर्माण कार्य शुरु गरिएको छ । शिक्षा नै विकासको प्रमुख आधार भएको हुँदा बालबालिकाहरुलाई शिक्षामा पँहुच बढाउन तथा विद्यालयमा विद्यार्थीहरु टिकाइ राख्नको लागि शिसु कक्षा देखि ५ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गरिएको छ । गाउँपालिका भित्र वंशगोपाल माविलार्इ प्राविधिक विद्यालय स्थापना पठनपाठन शुरु गरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बनाउनको लागी विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन शुरु गरिएको छ । गाउँपालिकाबाट नमूना विद्यालय छनौट गरी प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ । आधारभूत तहको परीक्षामा उत्कृष्ट हुने विद्यालयलाई प्रोत्साहन गर्ने व्यवस्थाको शुरुवात गरिएको अध्यक्ष हुँमागाईले बताए ।

गाउँपालिकाको आर्थिक आर्जनको प्रमुख स्रोत कृषि र पशुपालन भएको हुनाले त्यसलाई प्रवद्धनको लागि कृषकहरुलाई अनुदानको व्यवस्था गरिएको छ । प्रदेश सरकार, गाउँपालिका र स्थानीय दूग्ध उत्पादन सहकारी संस्थाको साझेदारीमा पशु दाना उद्योग स्थापना गरिएको छ । त्यसैगरि वडा नं. ८ मा तरकारी पकेट क्षेत्र तथा वडा २ र ७ मा कागती पकेट क्षेत्र बनाइ कार्य अगाडि बढाइएको छ । गाउँपालिकाको वडा न.ं ३, ५ र ६ मा पशुपालन तथा कृषिमा आत्मानिर्भर रहेका कृषकहरुलाई थप टेवा पुग्ने गरी कृषि तथा पशु अनुदान प्रदान गरिएको छ । पशुपालन कृषकहरुको लागी दूग्ध उत्पादन सहकारी मार्फत प्रति लिटर ५० पैसा अनुदान दिने व्यवस्था गरिएको छ ।

लक्षित वर्गहरुको आर्थिक उन्नती गर्नको लागि गाउँपालिका स्तरीय समन्वय समितिहरु गठन गरी उनीहरुहरुको निर्णय र माग अनुसार कार्य अगाडि बढाइएको छ । गरिब तथा विपन्न परिवारको छनौट गरि अनुदान तथा आयमुलक तालिमहरु प्रदान गरिएको छ । गाउँपालिका स्थापना भएको छोटो समयमा गाउँपालिकामा स्थापना गरिएको स्वास्थ्य इकाइहरु मध्ये डुम्रेकुना स्वास्थ्य इकाइ मात्र भाडामा रहेको अन्य इकाइहरु आफ्नो भवन बनाई संचालन गर्न सकिएको छ भने वडा कार्यालयमध्य पनि यस आवमा २ वटा आफ्नो भवन बनाउने लक्ष्य रहेको छ । यसै गाउँपालिकाले आफ्नो आम्दानीका श्रोतहरु बढाउनको अध्यनन गरी करका दायराहरु वृद्धि गरेको अध्यक्ष हुमागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*