साउदीमा कोरोना नेगेटिभ, हेटौँडामा पोजिटिभ

बाइलाइन नेपाल
२८ असार २०७७, आईतवार १७:५७

साउदी अरबमै पीसीआर परीक्षण गराएर स्वदेश फर्किएका मकवानपुरको एक युवकमा संक्रमण पुष्टि भएको छ ।मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका–७, चल्तीका युवकमा कोरोना संक्रमण देखिएको हेटौँडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए । संक्रमित ३९ वर्षीय पुरुष २१ असारमा साउदी अरबबाट स्वेदश फर्किएका थिए । युवकले करिब १ महिनाअघि साउदीमै पीसीआर परीक्षण गराएको बताएका छन् ।‘युवकले साउदीमै परीक्षण गराएको हामीलाई जानकारी दिएका छन् । त्यो परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको रहेछ,’ चौलागाईंले भने ।

यसअघि हेटौँडाका एक संक्रमित युवकको पनि साउदीमा गरिएको परीक्षणमा नेगेटिभ र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नेगेटिभ देखाएको थियो । उनलाई साउदीमै संक्रमण भएको थियो र पछि गरिएको परीक्षणमा नेगेटिभ देखाएको थियो ।   आज संक्रमण पुष्टि भएका युवक काठमाडौंस्थित बसुन्धराको रहेको होल्डिङ सेन्टरबाट २२ असारमा थाहा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा आएर बसेका थिए । वज्रबाराहीस्थित क्वारेन्टाइनमा रहेका ८ जनाको स्वाब परीक्षणका लागि २७ असारमा हेटौंडा ल्याइएको थियो । हेटौँडामा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई मात्र संक्रमण देखिएको हो ।

संक्रमित युवक नेपाल एयरलाइन्सको विमानमा करिब १ सयभन्दा बढी सँगै नेपाल आएका थिए । जसमध्ये उनमा मात्र कोरोना देखिएको आइसोलेसनका इञ्चार्ज चौलागाईंले जानकारी दिए । संक्रमित पुरुषलाई आइसोलेसनमा राखिएको छ । संक्रमित युवकको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।आज थप एकमा संक्रमण देखिएसँगै मकवानपुरमा संक्रमितको संख्या ३२ पुगेको छ । जसमध्ये धेरै थाहा नगरपालिकाका छन् । मकवानपुरमा पहिला थाहा नगरकै युवकमा संक्रमण देखिएको थियो । जिल्लाको एक मात्र हेटौँडाको आइसोलेसनमा ४ जना संक्रमित उपचाररत छन् ।

साउदीबाटै आएका संक्रमित युवकले जिते कोरोना

साउदी अरबबाटै आएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका निवासी ३४ वर्षीय संक्रमित युवकले कोरोनालाई जितेका छन् ।साउदी अरबबाट १८ असारमा उनी काठमाडौंबाट हेटौँडाको होल्डिङ सेन्टरमा आएर बसेका थिए । हेटौँडास्थित प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई १९ असारमा संक्रमण पुष्टि भएको थियो ।

होल्डिङ सेन्टरबाट गाउँपालिकाको क्वारेन्टाइनमा पठाइने भए तापनि गाउँपालिकाको अनुरोधमा उनलाई आइसोलेसनमा राखिएको थियो ।आइसोलेसनको ७ दिनको बसाइपछि युवकलाई डिस्चार्ज गरिएको इञ्चार्ज चौलागाईंले जानकारी दिए । पछिल्लो पटक २७ असारमा गरिएको पुनः परीक्षणमा कोरोना नेगेटिभ देखाएपछि डिस्चार्ज गरिएको उनले जानकारी दिए । युवकलाई होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको छ ।-साभारः शिलापत्र डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*