हेटौंडा उपमहानगरपालिकाको बजेट २ अर्ब ८ करोड

बाइलाइन नेपाल
१० असार २०७७, बुधबार १२:५६

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको सातौ नगरसभा बैठक भएको छ । बैठकले आगामी आर्थिक वर्ष २०७७। ०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैंयाको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा केही घटेर आएको हो ।

बजेटमा पूर्वाधार विकास तर्फ ९७ करोड ९८ लाख ३९ हजार, आर्थिक विकास तर्फ ६ करोड ५३ लाख, सामाजिक विकास तर्फ ७२ करोड ७४ लाख ७९ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ४ करोड ७१ लाख १९ हजार र संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन तर्फ ३ करोड ५४ लाख विनियोजन गरिएको उपमेयर मिना कुमारी लामाले बताइन् ।

उपमहानगरले आन्तरिक स्रोतबाट २० करोड १४ लाख ७९ हजार रुपैयाँ, राजश्व बाडफाड बाट ५५ करोड ३ लाख ४४ हजार, प्रदेश सरकारको अनुदानबाट ८ करोड ३५ लाख ९८ हजार तथा संघीय सरकारको अनुदानबाट ९८ करोड ९९ लाख र असार मसान्तसम्म खर्च नभइ बचत भएको २६ करोड १३ लाख ११ हजार रुपैयाँबाट खर्च व्यहोर्ने लक्ष्य राखेको छ ।

लकडाउनका कारण उपमहानगरपालिकाको आन्तरिक आयमा कमी आएको मेयर हरिबहादुर महतले बताए । आज प्रस्तुत गरिएको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा जोड दिने मेयर महतले उल्लेख गरे ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु भएको अवस्थामा उक्त मृतकको परिवारलाई हेटौँडा उपमहानगरपालिकाले तीनलाख राहत दिने भएको छ । आज हेटौँडामा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपमेयर लामाले कोरोना पीडित परिवारलाई यो रकम राहत हुनेगरी बजेट ल्याएको बताइन् ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा पर्यटन प्रर्वद्धनको लागि भ्यू टावर तथा टोनी हेन पार्क निर्माण गरिने भएको छ ।नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आन्तरिक तथा वाह्य पर्यटनलाई प्रर्वद्धनको लागि हेटौँडाको टिसिएन चौरमा टोनि हेगन पार्क तथा, हेटौँडा उपमहानगरपालिका वडा नंबर १४ को ड्राइभर डाँडामा भ्यू टावर निर्माण गरिने भएको हो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ८ मा रहेको चन्द्रोदय मावि परिषरमा रहेको खेल मैदानमा एकवर्षभित्रै प्याराफिट सहितको खेलकुद मैदान निर्माण हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाको २०७७–०७८ को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उपमेयर लामाले प्रदेश सरकारको सहकार्यमा प्याराफिट सहितको खेल मैदान निर्माण हुने बताउनुभयो । खेल मैदान निर्माणको लागि २ करोड ५० लाख रुपैँया विनयोजन गरिएको छ ।

विद्यालयको भौतिक पूर्वाधार विकासका लागि २ करोड ३५ लाख, कोरोना उपचार कोषका लागि २ करोड ५० लाख, शहरी स्वास्थ्य केन्द्रका लागि १ करोड ८५ लाख रुपैंया विनियोजन भएको छ । सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क सेनेटरी प्याड वितरणका लागि १ करोड ३ लाख रुपैंया विनियोजन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*