मकवानपुरका दुई राप्रपा बीच एकीकरण

बाइलाइन नेपाल
८ असार २०७७, सोमबार १८:५१
??

मकवानपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई घटकबीच एकीकरण भएको छ । उनीहरूले जस्तोसुकै परिस्थितिमा पनि पार्टी नफुटाउने भन्दै सीताको कसम खाँदै पार्टी एकीकरणकाे घोषणा गरेका हुन् ।

कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तको मकवानपुर जिल्ला कमिटीबीच एकताको सहमति भएको हो । गत २८ फागुनमा काठमाडौंमा राप्रपाको दुई घटकबीचको एकतापछि जिल्ला कार्य समिति र स्थानीय तहहरुको समायोजन प्रक्रिया प्रारम्भ भएको थियो ।

राप्रपाका अध्यक्ष कमल थापाले पनि पार्टी एकता घोषणा सभामा भागवत गीतालाई कसम खाँदै पार्टी नफुटाउने वाचा गरेका थिए ।

थापाकै शैलीमा मकवानपुरको पार्टी एकतापछि बोल्दै पार्टी जिल्ला उपाध्यक्ष ज्ञानु ढुंगेलले पनि सीताको कसम खाँदै पार्टी नफुटाउने वाचा गरे । ‘पार्टी नेतृत्व गर्ने नेताहरुकै कारण हामी फुटेका हौं । सीताको कसम खाएर भन्छु अब पार्टी फुटाउँदैनौँ,’ ढुंगेलले भने ।

पार्टी केन्द्रीय कमिटी एकता भएको ३ महिनापछि मकवानपुरमा एकता घोषणा भएको हो । सोमबार हेटौँडामा भएको एकता सहमतिमा राप्रपा र तत्कालीन राप्रपा संयुक्तबीचमा अध्यक्षलगायत सबै जिल्ला कमिटी र स्थानीय तहहरुको समायोजन गर्ने निर्णय भएको छ ।

एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको अध्यक्षमा मधु अधिकारी कायम रहने गरी पार्टी उपाध्यक्षमा तत्कालीन राप्रपा संयुक्तका ज्ञानु ढुंगेलसहित सबै कार्य समितिलाई समायोजन गर्ने निर्णय गरिएको छ । कोरोना माहामारी सकिएपछि जिल्ला अधिवेशन गरिने राप्रपाका वरिष्ठ जिल्ला सदस्य सीताराम बर्तौंलाले जानकारी दिए ।

देशमा कोरोना महामारीले गर्दा पार्टी एकता भएको लामो समयपछि जिल्ला कमिटीको समायोजन गरिएको राप्रपाका केन्द्रीय सदस्य राजाराम बर्तौंलाले बताए । कार्यक्रममा राप्रपाका निवर्तमान केन्द्रीय सदस्य रामहरि न्यौपाने, राप्रपा हेटौंडा नगर अध्यक्ष गुरुप्रसाख सापकोटालगायत सहभागी थिए ।

काठमाडौंमा थापा, जबरा र लोहनी तीनै जना अध्यक्ष रहनेगरी एकता भएको थियो । पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नै रहने निर्णय भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*