हेटौँडामा गरिएको स्वाब परीक्षणमा ११६ जनालाई कोरोना

बाइलाइन नेपाल
७ असार २०७७, आईतवार १६:२४

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थापना गरेको हेटौँडास्थित कोरोना प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा अहिलेसम्म १ सय १६ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडामा प्रयोगशाला स्थापना गरेदेखि ५ असार साँझसम्मको तथ्यांक अनुसार सो संख्यामा कोरोना संक्रमित भेटिएका हुन् ।

प्रयोगशालाका अनुसार बागमती प्रदेशका ८, प्रदेश २ का ३ जिल्ला (जनकपुरबाहेक) र सल्यानसहित कुल १३ जिल्लाको स्वाब परीक्षण गरिएको छ ।

प्रयोगशालामा शनिबारसम्म ५ हजार ३ सय ८१ स्वाब प्राप्त भएको छ । प्राप्त नमुनाहरू परीक्षण गर्दा १ सय १६ जनामा पोजिटिभ देखिएको थियो भने ४ हजार ९ सय ५६ वटाको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार थप ३ सय ९ वटा स्वाब परीक्षणको क्रममा रहेका छन् ।

यो प्रयोगशालामा सबैभन्दा धेरै काठमाडौंको स्वाब परीक्षण गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले परीक्षणका लागि १ हजार ४ सय ५३ स्वाबको नमुना पठाएको थियो । जसमध्ये ३८ जनामा कोरोना पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम राज सेढाईंले जानकारी दिए ।

हालसम्म मकवानपुरका ९ सय ८९ जनाको स्वाब परीक्षण गरिएको छ । जसमध्ये ८ जनालाई मात्रै कोरोना पोजिटिभ देखाएको थियो । प्रदेश २ को बाराबाट ९ सय १९ वटा स्वाब प्राप्त भएको र परीक्षण गर्दा ४२ जनामा कोरोना पोजिटिभ देखिएको थियो । बाराबाट प्राप्त स्वाबमध्ये २० वटा परीक्षणको क्रममा रहेको छ ।

रौतहटबाट प्राप्त ४ सय ४२ र सिन्धुलीबाट ४ सय २१ स्वाब परीक्षणका लागि प्राप्त भएकोमा रौतहटका ९ जना र सिन्धुलीका ४ जनामा कोरोना संक्रमण भेटिए थियो । धादिङबाट १ सय ७८ र नुवाकोटबाट २८ स्वाब पठाएकोमा क्रमशः ८ जना र ४ जनालाई कोरोना देखाएको मन्त्रालयले जानकारी दिएको छ । पर्साबाट आएका १ सय ९२ वटा स्वाब परीक्षण गर्दा ४ जनामा मात्र कोरोना पोजिटिभ भेटिएको थियो ।

सिन्धुपाल्चोकबाट १ सय ६६, चितवनबाट १ सय ९८, रसुवाबाट ८, सल्यानबाट १ सय ७ वटा स्वाब परीक्षणका लागि हेटौँडा प्रयोगशालामा पठाइएको थियो । यी चारवटै जिल्लाको स्वाब परीक्षणको रिपोर्ट सबै नेगेटिभ आएको छ । जनकपुरबाट प्राप्त २ सय ८३ स्वाब परीक्षणका क्रममा रहेको मन्त्रालयका प्रवक्ता डा. सेढाईंले जानकारी दिए ।

बुटवलबाट आयो ५ सय ३३ स्वाब

हेटौँडास्थित प्रयोगशालामा परीक्षणका लागि बुटवलबाट ५ सय ३३ स्वाब प्राप्त भएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार बुटवल प्रादेशिक प्रयोगशालाबाट स्वाब शनिबार पठाइएको हो ।

बुटवलको प्रयोगशालामा परीक्षणका लागि स्वाबको संख्या धेरै भएपछि हेटौँडा पठाइएको मन्त्रालयका प्रवक्ता डा. सेढाईंले बताए । यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि १० भन्दा बढी स्वाब संकलन भएपछि १४ सय बढी स्वाब परीक्षणका लागि हेटौँडा पठाएको थियो ।

हेटौँडाका प्रयोगशालाका प्रमुख नारायण कार्कीले देशका विभिन्न प्रादेशिक ल्याबहरूले स्वाब लिएर परीक्षण गरिदिन आग्रह गरेको बताए । ‘हेटौँडा प्रयोगशालाको परीक्षणमा सबैले विश्वास गरेका छन् । त्यसैले धेरै ठाउँबाट स्वाब लिनका लागि आग्रह गरिरहेका छन्,’ कार्कीले भने ।

कुल संक्रमणको ४ प्रतिशत बागमतीमा

बागमतीको सामाजिक विकास मन्त्रालयका अनुसार यस प्रदेशमा देशको कुल कोरोना संक्रमणको करिब ४ प्रतिशत संक्रमित रहेको पाइएको छ । हालसम्म यस प्रदेशमा देशकाे कुल संक्रमणको ३.४५ प्रतिशत संक्रमित पुगेका छन् ।

मन्त्रालयका अनुसार शनिबारसम्मको तथ्यांकअनुसार प्रदेशमा हालसम्म २ सय ९८ जनामा संक्रमण देखिएको छ । जसमध्ये ५६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । हाल २ सय ३८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

४ जनाको मृत्यु

प्रदेशमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्युको अनुपात प्रदेशमा तुलनात्मक रूपमा बढेको र यो अवस्थालाई सरकारले नजिकबाट नियालेको मन्त्रालयका प्रवक्ता डा. सेढाईंले बताए । कोरोना रोकथाम र नियन्त्रणमा प्रदेश सरकारले महत्त्वपूर्ण काम गरिरहेको मन्त्रालयको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*