प्रदेश राजधानी हेटौँडामा विकासको नमुनाः बिजुली पोल सडकको बीचमा पारेर स्ल्याब ढलान

बाइलाइन नेपाल
६ असार २०७७, शनिबार १३:३७

वाग्मती प्रदेशको राजधानी हेटौँडाका २ स्थानमा विद्युतको पोल नसारी स्ल्याब ढलान गरिएको छ । विद्युत पोल बीचमा राखेर दुवैतर्फ स्लाब ढलान गरिएको हो ।

यसरी विद्युत पोल राखेर स्ल्याब ढलान गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । हेटौँडा–९ स्थित धापटोलबाट मानवसेवा आश्रम जाने बाटोमा २ वटा बिजुलीको पोल पर्ने भएपछि सडक निर्माण उपभोक्ता समितिले डिभाइडर राखेर स्ल्याब ढलान गरेको छ । त्यस्तै, हेटौँडा–३ बसामाडीको लेबट क्षेत्रबाट जमुचौतारा जाने सडकमा पनि विद्युत पोललाई बीचमा पारेर स्ल्याब ढलान गरिएको हो ।

दुवै स्थानमा स्ल्याब ढलान गर्न गठित उपभोक्ता समितिले नेपाल विद्युत प्राधिकरण र हेटौँडा उपमहानगरपालिकालाई विद्युत पोल हटाउन आग्रह गरे पनि सुनुवाइ नभएपछि स्ल्याब ढलान गरिएको जनाएको छ । धापटोलमा वाग्मती प्रदेशको ३० लाख रुपैयाँ बजेटमा स्ल्याब ढलान गरिएको छ । १.५ मिटरको डिभाइडर बनाएर २ तर्फबाट ३/३ मिटरको स्ल्याब ढलान गरिएको उपभोक्ता समितिले जानकारी दिएको छ ।

बसामाडीको लेवटमा ४.५० मिटर चौडाइको स्ल्याब ढलान विद्युत पोल बीचमा राखेर गरिएको छ । यसरी विद्युत पोल बीचमा राखेर २–२ मिटर स्ल्याब ढलान गर्दा चार पाङ्ग्रेदेखि ठूला सवारीसम्म आवतजावत गर्न नसक्ने स्थानीयले बताएका छन् । स्ल्याब ढलान नगर्दा बागमती प्रदेश सरकारको ३० लाख रुपैयाँको बजेट फिर्ता जाने भएपछि विद्युत पोल बीचमा पारेर सडक बनाइएको उपभोक्ता समितिले जनाएको छ ।

हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको हेटौँडा उपमहानगरपालिका– ३ मा बसामाडीको लेबट क्षेत्रबाट जमुचौतारा जाने सडक स्ल्याब ढलानको क्रममा बीच सडकमा नै एउटा बिजुलीको पोल राखेर सडक ढलान गरेपछि त्यहाँका स्थानीय युवाहरूले सांकेतिक रूपमा विरोध जनाएका छन् ।

दीप प्रज्वलन गरेर सांकेतिक विरोध

यसरी बिजुलीको पोललाई बीचमा पारेर स्ल्याब ढलान भएपछि हेटौँडा–३ बसामाडीको लेवट क्षेत्रका युवाले दीप प्रज्वलन गरेर सांकेतिक विरोध जनाए । स्ल्याब ढलानको बीचमा रहेको बिजुलीको पोलवरपर दीप प्रज्वलन गरेका हुन् । सडकको बीचमा बिजुलीको पोल हुँदा सवारी दुर्घटनाको जोखिम रहेको भन्दै स्ल्याब ढलानको क्रममा गल्ती गर्नेले सजाय पाउनुपर्ने माग युवाहरूको छ ।

युवाले सडकमा नेपालको नक्सा बनाएर दीप प्रज्वलन गरेका थिए । सामाजिक सञ्जालमा दीप प्रज्वलनको तस्वीर राख्दै युवाले भनेका छन्, ‘नयाँ नेपाल र नयाँ बाटोमा जसकाे गल्ती हो, उसले सजाय पाउनुपर्छ ।’- साभारः शिलापत्र डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*