हेटौंडाकी सुस्मिता थापाको रहस्यमय मृत्यु, हत्या भएको प्रहरीको भनाइ

बाइलाइन नेपाल
६ असार २०७७, शनिबार १२:५७

हेटौंडा उपमहानगरपालिका–४ की २२ वर्षीया सुस्मिता थापाको हत्या नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । २ असारमा थापाको भान्सा कोठामा मृतावस्थामा शव फेला परेसँगै यो घटना रहस्यमय बन्दै आएको छ ।

घटनाबारे अनुसन्धान गर्ने क्रममा उनको हत्या नै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशील सिंह राठौरले बताए ।

एसपी राठौरका अनुसार थापाको शव भान्छामा विभत्स अवस्थामा भेटिनुले हत्या भएको आशंकामा अनुसन्धान भइरहेको छ । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार थापाको तड्पाइ–तड्पाइ हत्या गरिएको हुनसक्छ ।

मृतक थापाको टाउकोमा गम्भीर चोट, आँखा फुटाइएको र घाँटी, हातमा निलोडाम देखिएको घटनास्थल पुगेका प्रहरीहरुले बताएका छन् । मकवानपुर प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको छ ।

घटनामा सुस्मिताका ससुरा र नन्दको भूमिका शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको छ । बिहीबार मृतककी ससुरा ५८ वर्षीय प्रकाश थापा र मृतककी नन्द २३ वर्षकी सीता थापालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ । सोही दिन घरमै रहेका ससुरा र नन्दले घटनाबारे थाहा नभएको प्रहरीसमक्ष बताएका छन् ।

६ महिनाअघि पतिको सडक दुर्घटनामा मृत्यु

एक वर्षअघि सुस्मिताको हेटौंडा घर भएका रुपेन्द्र थापासँग विवाह भयो । कपिलवस्तु जिल्लाको बाणगंगा माइती भएकी सुस्मिता र रुपेन्द्रले सँगै बाँच्ने सँगै मर्ने कसम खाएर विवाह गरेका थिए । उनीहरुबीच कहिले नराम्रो भएन ।

गत मंसिरमा उनीहरु मोटरसाइकलमा कपिलवस्तु गए । बुटवल सुस्मिताको माइत हो । रुपेन्द्र पनि एकरात ससुरालीमा बसे र, भोलिपल्ट श्रीमती सुस्मितलाई छाडेर हेटौंडा घर फर्किए ।

घर फर्किने क्रममा नवलपरासी दाउन्नेमा रुपेन्द्रले चलाएको मोटरसाइकल ट्रकसँग ठोक्कियो । लगत्तै घटनास्थलमै उनको ज्यान गएको प्रहरीको भनाइ छ । त्यतिबेला श्रीमान रुपेन्द्रको सडक दुर्घटनामा मृत्यु भएको खबर सुस्मिताले पाँच घण्टापछि मात्रै थाहा पाएकी थिइन् ।

त्यसयता सुस्मितालाई हेटौंडामा ससुराले कहिले पनि राम्रो सोचेनन् । सधैँ नराम्रो सोच्दै गाली गर्ने गरेको छिमेकीहरु बताउँछन् । त्यसपछि सुस्मिता प्रायः माइतमै बस्दै आएकी थिइन् ।

लकडाउन हुनुभन्दा ३,४ दिनअघि मात्र सुस्मिता हेटौंडाबाट कपिलवस्तु माइत गएकी थिइन् । लामो बाटोले गर्दा लकडाउनको कारण सुस्मिता लामो समय कपिलवस्तुमै रोकिइन् ।

पतीको मृत्यु भएको ६ महिना पुग्दै थियो । लकडाउनकै समयमा ६ महिनाको ‘बराखी छ, के–के चढाउन पर्छ, बत्ति बाल्न पर्छ’ भनेर सुस्मितालाई हेटौंडाबाट बोलाए । सुस्मिता २ असारमा हेटौंडा आइन् ।

हेटौंडा आएकै दिन सुस्मितालाई घरमा अनेकथरी भनेर गाली गरिएको थियो । त्यसपछि सुस्मिताले माइतमा आमासँग राति १० बजेतिर अनलाइनमा कुरा गरेर चाँडै लिन आउनु भनेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सुस्मिताको आमा भन्छिन्, ‘के थाहा त्यही दिन उसको अन्तिम दिन हुनसक्छ भनेर । यस्तो हुन्छ भन्नी थाहा पाएको भए केही न केही गरिन्थ्यो होला ।’ अन्ततः सोही दिन राति १२ बजेतिर सुस्मिताको ज्यान गयो ।

पैसाको लागि हत्या
सवारी दुर्घटनामा ज्यान गुमाएका श्रीमान रुपेन्द्रको दुर्घटना बीमा र जीवन बीमाको ठूलो रकम सुस्मितालाई आउँदै थियो । उक्त रकमकै लागि परिवारकै सदस्यहरूबाट हत्या भएको आशंका छ ।

सुस्मिताको घटनाबारे सत्यतथ्य छानविन गर्न नेपाली कांग्रेसकी नेतृ एवं सांसद डा. डिला संग्रौलाले माग गरेकी छिन् । यस्तै प्रदेशसभा सदस्य विमला घिमिरेले  समेत सुस्मिताको घटनाबारे प्रश्न उठाएकी छन् ।- स्रोतः रातोपाटी डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*