कोरोना रोकथामका लागि वाग्मती प्रदेश सरकारको १३ करोड खर्च

बाइलाइन नेपाल
४ असार २०७७, बिहीबार २०:५२

हेटौंडा । वाग्मती प्रदेश सरकारले पनि कोरोना कोषबाट साढे १३ करोड बढी रुपैयाँ खर्च गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्ररण कोषबाट १३ करोड ६७ लाख रुपैयाँ खर्च भएको जानकारी दिएको छ ।

वाग्मती प्रदेशको मन्त्रिपरिषद्बाट कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यविधी–२०७६ स्वीकृत भएसँगै कोषको रकम खर्च गर्न सुरु गरिएको थियो ।

प्रदेश सरकारको रकम, दातृ निकायबाट प्राप्त नगदलगायतका सहयोगबाट आवश्यक स्वास्थ्य सामग्री खरिद तथा स्थानीय तहलाई नगद हस्तान्तरण गरिएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश सरकारले ४० करोड रुपैयाँ राखेर स्थापना गरेको कोषमा बैंक, वित्तीय संघसंस्था, विभिन्न कार्यालय, व्यवसायी तथा विभिन्न निजी क्षेत्रबाट नगद सहयोग गरेको छ । कोषमा अन्य क्षेत्रले २ करोड ९६ लाख ६३ हजार ६ सय ४१ रुपैयाँ प्रदान गरेको छ ।

विश्वमै महामारीको रुप लिएको कोरना भाइरससँग सामना गर्न गत चैत ११ गतेदेखि देशभर लकडाउन भएपछि स्थानीय र प्रदेश सरकारले राहत प्याकेज ल्याएका थिए ।

कोषबाट १२ वटा जिल्लाका जिल्ला विपद् व्यवस्थापन कोषलाई ५ लाखका दरले ६० लाख रुपैयाँ उपलब्ध गराइएको मन्त्रालयका लेखा अधिकृत रमा कार्कीले जानकारी दिइन् ।

उपलब्ध गराएको रकम कोरोना संक्रमण रोकथाम एवम् उपचार, आइसोलेसन तथा क्वारेन्टाइन निर्माण, मेडिकल सामग्री खरिद, विपन्न परिवारलाई राहतका लागि प्रयोग गर्नसक्ने जनाइएको छ । केही स्थानीय सरकारले राहत वितरण गरिरहेका छन् भने केहीले अझै सुरु गर्न सकेका छैनन् ।

काठमाडौं, ललितपुर र भरतुर महानगरपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रणको लागि २० लाखका दरले ६० लाख रुपैयाँ उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । हेटौंडा उपमहानगपालिकालाई १५ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

हेटौंडा उपमहानगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा उपचार, आइसोलेसन, क्वारेन्टाइन निर्माणमा खर्च गरेको छ ।

कोषबाट प्रदेशका ४१ वटा नगरपालिकालाई १२ लाखका दरले ४ करोड १२ लाख रुपौयाँ उपलब्ध गराएको छ ।

त्यस्तै, प्रदेशका ७४ वटा गाउँपालिकालाई १० लाखका दरले ७ करोड ४० लाख रुपैयाँ प्रदान गरेको मन्त्रालयले जानकारी दिएको छ ।

स्थानीय तहहरूले प्रदेश सरकारबाट प्राप्त भएको राहत तथा विभिन्न निकायबाट सहयोग भएको रकम तथा खाद्यान्न वितरण गर्ने कार्य जारी राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*