आर्थिक मामिला मन्त्री ढुंगेलले ढाँटे, बजेट पास हुन दिन्नौंः कांग्रेस नेता इन्द्र बानियाँ

बाइलाइन नेपाल
३ असार २०७७, बुधबार २१:००

हेटौंडा । वाग्मती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले संसदलाई ढाँटेको बताएका छन् ।

संचारकर्मीहरुसंगको कुराकानीमा प्रमुख प्रतिपक्ष दलका नेता बानियाँले विनियोजन विधेयक सांसदहरुलाई उपलव्ध नगराएर आर्थिक मामिला मन्त्री ढुंगेलले संसद र सांसदलाई ढाँटेको बताएका हुन् । बुधबारको संसद बैठकमा मन्त्री ढुंगेलले विनियोजन विधेयक २०७७ प्रस्तुत गरेपनि सांसदहरुको हातमा नपरेको भन्दै उनले मुख्यमन्त्री ढुंगेलले झुठो बोलेर संसदको गरिमा घटाएको बताए ।

संसदमा टेबुल भएको विधेयक सांसदहरुको हातमा नपर्दा सांसदहरु आक्रोशित र निरास भएको भन्दै उनले यस्तो प्रवृत्तिले बजेट पारित हुन नसक्ने चेतावनी दिए । ‘विनियोजन विधेयकमा मन्त्रालयगत रुपमा योजनाहरुको बाँडफाड रहेको हुन्छ, त्यो पुस्तक सांसदहरुले पाएनन् ।’–उनले प्रश्न गरे–‘किताव छापिएको छ भनेर सम्मानित संसदलाई ढाँट्ने आर्थिक मामिला मन्त्रीले बजेटमा निष्पक्ष काम गर्नुभयो भनेर कसरी विश्वास गर्ने ?’ उनले नेपाली कांग्रेस मात्रै नभई सत्तापक्षकै सांसदहरु समेत आक्रोशित भएको बताए ।

नेता बानियाँले सभामुख सानुकुमार श्रेष्ठले समेत विश्वास गुमाएको प्रतिक्रिया दिएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख श्रेष्ठले रातो किताव भनेर चिनिने विनियोजन विधेयकको पुस्तक आईसकेको जानकारी दिएपनि टेबलु भएपछि सांसदहरुले प्राप्त गर्न नसकेको बानियाँको भनाई छ । यसले सभामुखप्रतिको विश्वास समेत गुमेको उनको भनाई छ । ‘सभामुख पनि सरकारसंगै मिल्नु भयो भन्ने सांसदहरुको गुनासो छ ।’–उनले भने–‘आजको व्यवहारले झन यसलाई पुष्टि गरेको छ ।’

अधिकांश सांसदले सरकार र सभामुखको मिलेमतोमा ‘रातो किताव’ लुकाईएको आरोप लगाएका छन् । पुस्तक अध्ययन विना संसद बैठक अघि बढ्न नसक्ने भएपछि सभामुख श्रेष्ठले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका छन् । संसद सचिवालय स्रोतका अनुसार किताव २ दिनपछि मात्रै आउने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*