टेकुमा चाप बढेपछि एक हजार स्वाब परीक्षणका लागि हेटौंडा ल्याइयो

बाइलाइन नेपाल
३० जेष्ठ २०७७, शुक्रबार २०:४१

कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि काठमाडौंबाट स्वाब हेटौंडा ल्याइएको छ । काठमाडौंमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट कोरोना संक्रमणको परीक्षणका लागि एक हजार स्वाब हेटौंडा पठाइएको हो ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको अस्थायी प्रादेशिक प्रयोगशालामा एक हजार स्वाब प्राप्त भएको र त्यसको परीक्षण शुक्रबारबाट सुरु गरिने भएको छ ।

‘काठमाडौंको प्रयोगशालामा हजारौं स्वाब संकलन भएको रहेछ । त्यसको परीक्षणमा केही समय लाग्ने भएपछि एकहजार स्वाब हामीलाई प्राप्त भएको छ । हामी ल्याबमा थप टेक्निसियनको व्यवस्था गरेर २४ सैं घण्टा परीक्षण गर्ने तयारी अगाडि बढाएका छौं ।’, वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईंले भने ।

ल्याबमा यसअघि मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहटको स्वाब परीक्षण हुने गरेको थियो । हाल ल्याब दैनिक १२ घण्टा सञ्चालनमा रहेको र करिब ९० वटा स्वाबको दैनिक कोरोना परीक्षण गरिरहेको उनले बताए । हालसम्म ल्याबमा २९ सय स्वाब परीक्षण भइसकेको छ ।

‘हामीसँग अहिले ल्याबमा काम गर्ने पाँचजना जनशक्ति रहेका छन् । जनशक्ति थपेर दैनिक दुईसयभन्दा बढी स्वाबको परीक्षण गर्ने गरी हामी तयारी गरिरहेका छौं ।’, डा. सेढाईंका अनुसार हाल ल्याबमा एउटा मात्र मेसिन प्रयोगमा रहेको र केही दिनभित्र थप अर्को मेसिन जडान हुनेछ ।

भीटीएमको अभाव
कोरोना परीक्षणअघि स्वाब संकलनका लागि आवश्यक भीटीएम नहुँदा हेटौंडामा स्वाब संकलन प्रभावित भएको छ ।

हेटौंडा–४ स्थित श्रमिक माविको आइसोलेसन वार्डमा बुधबारबाट स्वाब संकलन गरेर राखिने (भीटीएम) सकिएपछि काममा समस्या सिर्जना भएको आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले बताए । उनका अनुसार भीटीएम अभावमा स्वाब संकलनमा समस्या सिर्जना भइरहेको छ ।

‘हामीसँग भएको भीटीएम सकिएको छ । हामीले यस विषयमा जानकारी गराउँदा समेत सुनुवाई भएको छैन ।’,उनले भने । उनका अनुसार केही संख्यामा राखिएको जगेडा भीटीएम समेत सकिएपछि स्वाब संकलन रोकिएको छ ।

सहज रूपमा पाइने भीटीएमका लागि आइसोलेसन वार्डले पटकपटक माग गरे पनि समयमै उपलब्ध नहुँदा स्वाब संकलन प्रभावित बनेको हो । ‘सबै स्थानीय तहबाट स्वाब संकलनका लागि आइसोलेस नै ल्याउन गरिएको छ । अहिले त्यो काम समेत प्रभावित भएको छ ।’, उनले भने ।-स्रोतः ईकान्तिपुर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*