हेटौँडामा कोरोना संक्रमित भेटियो, संक्रमितको घर सिल, सुरक्षा व्यवस्था कडा

बाइलाइन नेपाल
१४ जेष्ठ २०७७, बुधबार १०:२३

हेटौँडा । मकवानपुरमै बसोबास गर्ने पहिलो कोरोना संक्रमति फेला परेको छ । यसअघि मकवानपुर घर भएपनि अन्यत्र गएको अथवा वसोबास गर्नेमा कोरोना देखिएपनि यसपटक भने मकवानपुरमै बसोबास गरिरहेका एक जना महिलामा कोरोना देखा परेको हो ।

हेटौंडा उपमहानगरपालिका– १ चौकिटोल निवासी एक जना महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य अधिकृत भोला चौँलागाईले जानकारी दिएका छन् । हेटौँडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा उनलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको उनले बताए ।

संक्रमित महिलाको घरलाई सिल गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । कोरोनाको संक्रमण पुष्टि भएपछि ती महिलाको श्रीमानलाई हेटौँडा– ४ कर्रास्थित श्रमिक माविको आइसोलेसन कक्षमा राखिएको उनले बताए । कोरोना संक्रमित महिला श्रीमानसँगै जेठ ९ गते चितवनबाट हेटौंडा आएको जानकारी प्राप्त भएको नेपालले बताए ।

उनको स्वाब संकलन गरी हेटौँडा १० स्थित किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा पीसीआर परीक्षणका लागि पठाइए पनि रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य अधिकृत चौँलागाईले जानकारी दिए ।

कोरोना संक्रमित महिलालाई चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*