गोर्खा लहारीले गर्यो कर्मचारीको तलब कटौती, मजदुर संगठनको ध्यानाकर्षण

बाइलाइन नेपाल
१३ जेष्ठ २०७७, मंगलवार १३:५४

हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेको गोर्खा लहारी प्रालिले लकडाउनको समयमा करिब २० जना श्रमिकको तलब कटौती गरेको भन्दै ३ मजदुर संगठनले ध्यानाकर्षण भएको जनाएका छन् ।

उद्योगमा वर्षौंदेखि कार्यरत मजदूरहरुको तलब कटौती गर्नु अनैतिक निर्णय भन्दै समग्र उद्योग ट्रेड यनियन, कारखाना श्रमिक संघ र अखिल नेपाल औद्योगिक मजदूर संघले संयुक्त रुपमा विज्ञप्ती जारी गरेका छन् ।

विश्वभर महामारीको रुप लिँदै फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको समयमा उद्योग पूर्ण रुपले सञ्चालन हुँदा पनि श्रमिकको तलब कटौती भएपछि ३ मजदूर संगठनले विरोध गरेका हुन् ।

लकडाउनको कारण बाहिरी जिल्लाबाट उद्योग आउन नसक्ने मजदूरहरुको तलब कटौती गरेकोप्रति संगठनले विज्ञप्ती मार्फत् भत्त्र्सना गरेका छन् ।

यता, उद्योगले भने वाग्मती प्रदेशको कोरोना रोकथाम कोषमा १० लाख र जिल्ला समन्वय समितिको कोषमा १ लाख रुपैयाँ सहयोग गरेको छ । उद्योगले प्रदेश र स्थानीय सरकारलाई फकाउनको लागि लाखौं रकम सहयोग गरेको आरोप श्रमिकहरुले लगाएका छन् ।

‘सामाजिक क्षेत्रमा खासै योगदान नगरेको यस उद्योगले यसपालि वाग्मती प्रदेश स्तरीय राहत कोषमा १० लाख र जिल्ला स्तरीय राहत कोषमा १ लाख सहयोग गरेकोमा हामी अचम्ममा परेका थियौँ । तर, त्यो राज्य संयन्त्रसँग नजिक भएर उद्योग चलाउन अनुमति लिन रहेछ भन्ने अहिलेको घटनाक्रमले पुष्टि गरेको छ । ’, विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ती जारी गरेपछि उद्योगका मजदूर नेताहरुलाई स्पष्टिकरण सोधिएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*