किट नहुँदा हेटौँडामा कोरोना परीक्षण अलपत्र, कहिले आइपुग्छ किट ?

बाइलाइन नेपाल
११ जेष्ठ २०७७, आईतवार १२:५८

हेटौंडा । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले सञ्चालन गरेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशालामा पिसिआर किट नहुँदा कोरोना परीक्षण रोकिएको छ ।

एक साताअघि प्रयोगशालालाई उपलब्ध भएको करिब चार सयवटा किट शनिबार सकिएपछि कोरोना परीक्षण रोकिएको हो । शनिबार किट सकिएसँगै हेटौँडामा संकलन गरिएका करिब दुई सय जनाको स्वाब परीक्षण हुन सकेको छैन । प्रयोगशाला स्रोतका अनुसार किट नहुँदा आज आइतबार पनि परीक्षण रोकिने भएको छ ।

मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग एक हजार बढी किट माग गरेको छ । मन्त्रालयले माग गरेको किट आइतबार साँझसम्म हेटौँडा आइपुग्ने जनाइएको छ । प्रदेशका मन्त्रीदेखि हेटौँडा अस्पतालका स्वास्थ्यकर्मीहरूको स्वाब शनिबार संकलन गरिएको थियो । शनिबारबाटै हेटौँडामा किट नभए पनि स्वाब संकलन भने रोकिएको छैन । शनिबार परीक्षण गरिएका ११ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

आइतबार बिहानदेखि हेटौँडा अस्पतालको कोरोना युनिटमा प्रदेश सांसदहरूको स्वाब संकलन भइरहेको युनिट प्रमुख डा. हरि खड्काले जानकारी दिए । उनका अनुसार हालसम्म ५६ जनाको स्वाब संकलन गरिएको छ । किट आउनासाथ संकलित स्वाबको परीक्षण तीब्र गतिमा गरिने मन्त्रालयको दाबी छ ।

शनिबार प्रदेशका मन्त्री, सांसद, मन्त्रालय र प्रदेश सभाका कर्मचारीलगायत ९६ जनाको स्वाब संकलन गरिएको थियो । त्यसैगरी हेटौँडा अस्पतालमा कार्यरत एक सय जना स्वास्थ्यकर्मीको पनि स्वाब संकलन गरिएको कोरोना युनिट प्रमुख खड्काले जानकारी दिए ।

९३ वटा स्वाब भरतपुर पठाइयो
हेटौँडामा संकलन गरिएको ९३ वटा स्वाब कोरोना परीक्षणका लागि भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालामा पठाइएको छ । शनिबार साँझबाट हेटौँडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशालामा पिसिआर किट सकिएपछि कोरोना परीक्षणका लागि ९३ वटा स्वाब भरतपुर पठाइएको हो ।

प्रयोगशाला स्रोतका अनुसार हेटौँडामा शनिबार र आइतबार बिहानसम्म संकलन गरिएको स्वाबमध्ये करिब सयवटा स्वाब यहीँ राखेर बाँकी ९३ वटा भरतपुर पठाइएको हो । आइतबार साँझसम्म काठमाडौँबाट किट आउनासाथ परीक्षण सुचारु गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।–नयाँपत्रिकाडेली डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*