कोरोना संक्रमित महिला हेटौंडा–४ को भएको खुलासा, हेटौंडा अस्पतालका डाक्टर क्वारेन्टाइनमा

बाइलाइन नेपाल
१० जेष्ठ २०७७, शनिबार ११:४१

हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो हेटौंडा ३ का ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको भन्दै सार्वजनिक गरेको सूचनाले हेटौंडावासीलाई तनाव दिएको छ ।

मन्त्रालयले सूचना सार्वजनिक गरेको १४ घण्टाभन्दा बढी समय हुँदासम्म संक्रमित वसोवास गर्ने वडा र परिवारका बारेमा यकिन जानकारी नभएका कारण अन्यौलता छाएको हो । जसका कारण हेटौंडावासीमा कोरोनाको त्रास बढेको थियो ।

तर लामो समयको खोजबाट ती महिला हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को बासिन्दा भएको खुल्न आएको छ । जेठ ४ गते हेटौंडा अस्पतालबाट रिफर लिई काठमाडौँ गएकी ती महिलाको स्वाब काठमाडौँमा परीक्षण गर्दा पोजेटिभ देखिएको पत्ता लागेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा खटिएकाहरुले ती महिलाको परिवार सम्पर्कमा नआएपछि हेटौंडा अस्पतालबाहेक अन्यत्र कन्ट्क्ट ट्रेसिङको काम गर्न समस्या परेको छ ।

उनको उपचारमा संलग्न चिकित्सकहरुको पनि स्वाब संकलन गरिएको छ भने रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा बस्न भनिएको छ । उपचारको क्रममा हेटौंडा अस्पताल पुगेकी उनलाई मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रवीण श्रेष्ठ र कमल दवाडीले परिक्षण गरेका थिए ।

कोरोना संक्रमितको सम्पर्कमा आएका यी दुबै डाक्टरलाई अहिले सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ । उनीहरुको पनि स्वाब संकलन गरिएको छ भने रिपोर्ट आउन बाँकी छ ।

ती कोरोना संक्रमित महिला हेटौंडा अस्पतालको ज्वरो क्लिनिकमा समेत गएकी थिइन् । हेटौंडा अस्पताल समितिका अध्यक्ष प्रकाश पौडेलले सेल्फ क्वारेन्टाइनमा दुई जना डाक्टरसहित ल्याबमा कार्यरत कर्मचारी, भिडियो एक्सरे गर्ने कर्मचारी सबैलाई राखिएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*