मकवानपुरको थाहा नगरका कोरोना संक्रमित बालकका आफन्तको स्वाब हेटौंडामा परीक्षण हुँदै

बाइलाइन नेपाल
४ जेष्ठ २०७७, आईतवार १८:०३

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका घर भएका ७ वर्षीय कोरोना संक्रमित बालकको सम्पर्कमा आएका आफन्तलाई परीक्षण गर्न हेटौँडा ल्याइएको छ ।

थाहा नगरपालिकाल संक्रमित बालकको घर र मामाघरका गरी ११ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि आइतबार बिहान हेटौँडा ल्याइएको हो ।

संक्रमित बालकलाई काठमाडौंमा २ जेठमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

थाहा नगरपालिका–७ चल्ती घर भएका उनका परिवार र गैरीगाउँमा रहेका मामाघरका परिवारसहित ११ जनालाई हेटौँडा– ४ स्थित श्रमिक माविको आइसोलेसन वार्डमा राखिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

उनीहरू सबैको स्वाब संकलन भइसकेको छ । हेटौँडास्थित किटजन्य रोग नियन्त्रण तथा तालिम केन्द्रमा रहेको कोरोना परीक्षण प्रयोगशालामा संकलित स्वाबको पीसीआरबाट परीक्षण भइरहेको छ ।

बालकको सम्पर्कमा आएका अन्य व्यक्तिको पनि कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ । संक्रमित बालक २९ वैशाखमा तरकारी ढुवानी गर्ने गाडीमा काठमाडौँ गएका थिए ।

सतुंगल डेरा गरी बस्ने उनी थाहा नगरमा रहेको घर र मामाघरमा बसेको थाहा नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । उनी हाल काठमाडौंको सशस्त्र प्रहरीको आइसोलेसन वार्डमा छन् ।

तरकारी गाडीको चालकको समेत पहिचान गरी उनको पनि स्वाब संकलन गरेर टेकुमा परीक्षण गर्ने तयारी भइरहेको मेयर बिष्टले जानकारी दिए । चालक भक्तपुरस्थित साँगामा बस्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*