कोरोना भाइरसका कारण नेपालमा पहिलोपटक एक महिलाको मृत्यु

बाइलाइन नेपाल
३ जेष्ठ २०७७, शनिबार २०:३६

हेटौंडा । नेपालमा पनि कोारेना भाइरसका कारण मानिसको ज्यान गएको छ । शनिबार धुलिखेल अस्पतालमा मृत्यु भएको बाह्रविसे नगरपालिका–९ राम्चेकी महिला कोरोनाको कारण भएको पुष्टि भएको छ ।

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले शनिबार राती सामाजिक सञ्जालमा अस्पालमा उपचार गराईरहेकी महिलाको कोरोनाकै कारण मृत्यु भएको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्ः ‘धुलिखेल अस्पतालमा मृत्यु भएको बाह्रविसे नगरपालिका–९ राम्चेको कोरोना पोजेटिभ देखिएकोमा संक्रमीत महिलाको मृत्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आएको छ । यो नतिजाप्रति दुखित छु । सम्बन्धित स्थानहरु जिल्ला कोरोना क्राइसिस मेनेजमेन्टको तर्फबाट शिल गरिएको छ । सम्बंधित ठाउँमा भोली बिज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परिक्षण गरिनेछ । धैर्यता र सहयोगको लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु । मृतकप्रति हार्दिक श्रद्धान्जली र बिरामी नाबालकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको बिरामीको मृत्यु भएको जनाइएको थियो । अस्पताल स्रोतका अनुसार मृत्यु हुने सुत्केरी हुन् । उनको त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएको थियो । अस्पतालबाट घर गएको उनी श्वासप्रश्वासमा समस्या आएपछि बिहीबार धुलिखेल अस्पताल भर्ना भएकी थिइन् ।

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

धुलिखेल अस्पतालमा २९ वर्षकी सुत्केरी महिलाको मृत्यु भएको र उनी कोरोना भाइरसको सम्भावित संक्रमित रहेकाले पूर्वतयारी स्वरुप उनको गाउँ र माइती गाउँ क्षेत्रमा सचेतना अपनाइएको थियो ।

माइती गाउँबाट आफन्तहरु ती महिलालाई भेट्न गएकाले त्यो गाउँ पनि सिल गरिएको हो । महिलाले हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ ।

ती महिलाको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको छ ।

यसैबीच स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयलका सहप्रवक्ता डाक्टर समिर अधिकारीले नेपालमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिको मृत्युभएको विज्ञप्ती मार्फत पुष्टि गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*