वाग्मती प्रदेशमा लकडाउन उल्लंघन गर्ने १० हजार सवारी र ५ हजार व्यक्ति कारबाहीमा

बाइलाइन नेपाल
१ जेष्ठ २०७७, बिहीबार १७:११
फाइल तस्वीर

कोरोना संक्रमितको संख्या बढिरहेको कारण बागमती प्रदेशमा लकडाउन उल्लंघन गर्ने सवारीसाधन र मानिस नियन्त्रणमा कडाइ गरिएको छ ।

सरकारको निर्देशन अवज्ञा गर्दै अनावश्यक रूपमा घर बाहिर निस्किने र कामविना लकडाउन उल्लंघन गर्दै हिँड्ने सवारीसाधन र मानिस नियन्त्रणमा कडाइ गरिएको हो । वाग्मती प्रदेशमा लकडाउन उल्लंघन गर्नेलाई कडाइ गर्न मुख्यमन्त्री डोरमणि पौडेलले निर्देशन दिएका छन् ।

प्रदेशका सबै जिल्लामा (उपत्यकाबाहेक) ११ चैतदेखि लकडाउन उल्लंघन गर्ने १० हजार ९२ वटा सवारीसाधन र ४ हजार ८ सय २० मानिस कारबाहीमा परेका छन् । लकडाउन उल्लंघन गर्ने सवारी र मानिसलाई नियन्त्रणमा लिँदै कारबाही गरिएको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिए ।

लकडाउनको समयमा सडकमा समूह बनाएर हिँड्ने, कामविना हिँडडुल गर्नेलाई नियन्त्रणमा लिइएको लामाले बताए । विगत २ दिनदेखि एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा पनि कडाइ गरिएको प्रहरी नायव महानिरीक्षक लामाले  बताए ।

काठमाडौं उपत्यका प्रवेशमा कडाइका साथ निगरानी बढाएको उनको भनाइ छ । तराईबाट बागमती प्रदेशको मुकाम हेटौँडा प्रवेश गर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत रातोमाटे नाका बन्द गरिएको छ । अत्यावश्यक सवारीबाहेकलाई प्रवेशमा रोक लगाइएको प्रहरी नायव महानिरीक्षक लामाले जानकारी दिए ।

छिमेकी जिल्ला पर्सामा देशमै सबैभन्दा बढी कोरोना संक्रमित देखा परेपछि प्रदेश राजधानी प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले रातोमाटेलगायतका नाका निरीक्षण गर्दै जथाभावी सवारी र मानिस आवतजावतमा कडाइ गर्न निर्देशन दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*