कोरोना कहरः मनहरीमा पसलहरु आइतबार र बिहीबार मात्रै खुल्ने

बाइलाइन नेपाल
१ जेष्ठ २०७७, बिहीबार १४:२२

कोरोना भाइरसको संक्रमणको जोखिम रहेको मनहरी बजारमा खाद्यान्न र तरकारी किन्नका लागि आइतबार र बिहीबार मात्रै बजार खुला गरिने भएको छ ।

मनहरी गाउँपालिकास्तरीय लकडाउन अनुगमन समितिको बैठकले तरकारी र खाद्यान्न खरिदका लागि यसअघि दैनिक बिहान ९ बजेसम्म खुल्दै आएको बजार अब हप्तामा दुई दिनमात्रै खोल्ने निर्णय गरेको हो ।

समितिकी संयोजक मनिला बिष्टको अध्यक्षतामा इलाका प्रहरी कार्यालय मनहरी बजारमा बसेको बैठकले अत्यावश्यकीय औषधीजन्य पसल र कृषि तथा पशुसम्बन्धी पसलहरुबाहेक अन्य सबै व्यापारिक प्रतिष्ठानहरु बन्द गर्ने निर्णय गरेको हो । आइतबार र बिहिबार विहान १० बजेदेखि ४ बजेसम्म मात्र खाद्यान्न र तरकारी पसलहरु खुल्नेछन् । मनहरी गाउँपालिकाका ९ वटै वडाका व्यापारिक प्रतिष्ठानहरुमा यो निर्णय लागू हुनेछ ।

सडक तथा शाखा सडकहरुमा गुड्ने साना सबारीहरु साइकल, मोटरसाइकल र अटोहरु पनि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको संयोजक बिष्टले बताउनुभयो । त्यसैगरी माछामासु पसलहरु पूर्ण रुपमा बन्द गर्ने, चितवनको सीमानाबाट भित्रिने मानिस र बस्तुहरुको नियमनका लागि प्रहरी पोष्ट स्थापना गर्ने लगायतका निर्णयहरु भएका छन् ।

समितिले बाहिरी जिल्लाबाट आएका मानिसहरुबारे थाहा पाएमा तत्कालै वडाध्यक्ष, स्वास्थ्यकर्मी वा प्रहरीलाई खबर गर्न समितिले आग्रह गरेको छ । बजार क्षेत्रमा भीडभाड हुने गरी सामाजिक दुरी मिचेर बस्ने, शितल ताप्ने नाउँमा भीडभाड जम्मा गर्ने, तास खेल्ने जस्ता गतिविधिहरु पूर्ण रुपमा बन्देज गरिएको समितिले जनाएको छ । यदि त्यस्तो देखिएमा तत्कालै प्रहरीले पक्रेर कारबाही अघि बढाउने बताइएको ।

बैठकमा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति सभापति नारायण सुवेदी, इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख श्रीशंकर श्रेष्ठ, शसस्त्र प्रहरी बल आइआरटी पोष्टका प्रमुख मानबहादुर खड्का, राजनीतिक दलका प्रतिनिधि हेमलाल उप्रेती, सञ्चारकर्मी शिवकुमार काशी लगायत कपडा, किराना र मोबाइल व्यवसायीहरु सहभागी रहेका थिए । -साभारः मनहरीलाइभ डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*