पर्सामा संक्रमित बढेसँगै हेटौँडा उच्च जोखिममा

बाइलाइन नेपाल
३० बैशाख २०७७, मंगलवार २१:२६

नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित पर्सामा भेटिएको पुष्टि भएपछि छिमेकी जिल्ला मकवानपुरमा कोरोनाको त्रास बढेको छ ।

तराईबाट केन्द्रीय राजधानीसहित पश्चिमी जिल्ला प्रवेश गर्ने मुख्य नाका रहेको हेटौँडा रातोमाटेमा आवतजावत खुकुलो भएपछि जिल्लाबासी चिन्तित भएका छन् । रातोमाटे नाका हुँदै बिनासावधानी सवारीसाधन हेटौँडा प्रवेश गर्न थालेपछि स्थानीय चिन्तित हुन थालेका हुन् ।

हेटौँडाबासीले सामाजिक सञ्जालमा हेटौँडा उच्च जोखिममा रहेको भन्दै रातोमाटेलगायतका नाका सिल गर्न दबाब सिर्जना गरेका छन् । पर्सामा एकैदिन ३९ जना कोरोना संक्रमित भेटिएपछि तराईबाट हेटौँडा प्रवेश गर्ने सबै नाका सिल गर्न दबाब बढेको हो ।

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत रातोमाटे नाका सिल गर्न जिल्लाबासीले सम्बन्धित निकायलाई सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराएका छन् । रातोमाटे नाकाबाट विगतका दिनमा पनि भारतबाट तरकारी तथा फलफूल बोकेका सवारीसाधन आवतजावत गरिरहेको भन्दै स्थानीयले विरोध गरेका थिए ।

पर्सामा कोरोना संक्रमित बढेपछि बागमती प्रदेश सरकारले उच्च सतर्कता अपनाउने विषयमा छलफल गरिरहेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले तराई हुँदै हेटौँडा प्रवेश गर्ने नाका, उच्च सतर्कता र सावधानीको विषयमा प्रदेश सरकारले छलफल गरिरहेको बताए ।

देशमा कोरोना संक्रमित बढिरहेको अवस्थामा लकडाउन खुकुलो पार्न नहुने भनाइ मन्त्री जमकट्टेलको छ । उनले पर्सामा सम्बन्धित क्षेत्रमा उच्च सतर्कता र सावधानी नअपनाउँदा कोरोना संक्रमित ह्वात्तै बढेको उनको तर्क छ । बागमती प्रदेशमा पनि उच्च सतर्कता अपनाइने मन्त्री जमकट्टेलले बताए ।

रातोमाटे नाकामा हेटौँडा उपमहानगरपालिका कार्यालयले अटोमेटिक सेनिटाइज मेसिन जडान गरेको थियो । सवारी चालक र सहचालकलाई सेनिटाइन गरेरमात्रै हेटौंडा प्रवेश गर्न दिने गरी मेसिन जडान भएको थियो । तर, हाल उक्त मेसिन मानव स्वास्थ्यको लागि हानिकारक रहेको भन्दै सञ्चालनमा रोक लगाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*