भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्दा मुआब्जाका लागि दुई करोड रुपियाँ विनियोजन

बाइलाइन नेपाल
२९ बैशाख २०७७, सोमबार ०८:५०

हेटौंडा । बाग्मती प्रदेश सरकारले गौरवको आयोजनामा राखेर निर्माण गर्न लागेको पोष्टबहादुर बोगटी ( भीमफेदी–कुलेखानी) सुरुङमार्ग निर्माणका लागि बजेट विनियोजन गरेसँगै निर्माणको आश जागेको छ ।

बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आइतबारको मन्त्रिस्तरको निर्णयबाट आयोजनाको स्रोत सुनिश्चित गरिएपछि यसले फेरि चर्चा पाएको हो । यसअघि निजी क्षेत्रको नेपाल पूर्वाधार कम्पनीले सुरुङमार्ग निर्माण गर्ने पहल गरेपनि काम सुरु गर्न सकेको थिएन् ।

सुरुङमार्ग आयोजना सम्पन्न गर्न १९ अर्ब ३२ करोड पाँच लाख ७६ हजार पाँच सय रुपियाँ लाग्ने अनुमानसहित अर्थले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गर्दै बहुवर्षीय योजना अन्तर्गत बजेट सुनिश्चित गरेको जनाएको छ ।

भीमफेदी–कुलेखानी सुरुङ मार्ग आयोजनाको आयोजना प्रभावित क्षेत्रको मुआब्जा वितरण गर्न अनुमानित दुई करोड रुपियाँ विनियोजन गरिएको छ । मार्ग विस्तार गर्दा सर्वसाधारणको निजी सम्पत्तीमा नोक्सान भएमामा प्रदेश सरकारले मुआब्जा दिनका लागि दुई करोड रुपैयाँ छुट्याएको हो ।

मन्त्रालयले आर्थिक वर्ष २०७७र०७८ मा २ अर्ब, आव २०७८र०७९ र २०७९र०८० मा ६, ६ अर्ब र आव २०८०र ०८१ मा ४ अर्ब ७२ लाख ७ सय ७६ रुपैयाँ उपलब्ध गराउने उल्लेख गरेको छ । खरिदको विधि अन्तर्रा्ष्ट्रिय शिलबन्दी बोलपत्र मार्फत् गर्ने जनाइएको छ ।

भीमफेदीदेखि कुलेखानीसम्म ३ दशमलव २ सय १५ किलोमिटर सुरुङ निर्माण हुनेछ । प्रस्तावित सुरुङमार्गमा ग्यास र पेट्रोलियम पदार्थको पाइपलाइनसँगै अत्यावश्यक पर्दा प्रयोग गरिने सिङ्गललेनको अर्को सुरुङसमेत निर्माण गर्ने गरी डिजाइन गरिने भएको छ ।

सुरुङमार्गको पहुँचमार्गको रुपमा दक्षिणतर्फ हाल प्रयोगमा रहेको भैंसै–भीमफेदी सडक तथा उत्तरतर्फ सिस्नेरी–दक्षिणकाली सडक र कुलेखानी–फाखेल–फर्पिङ सडक प्रयोगमा ल्याइने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*