मकवानपुरगढीको नीतिः जग्गा उपयोग गरे अनुदान,बाँझो राखे दण्ड

बाइलाइन नेपाल
२७ बैशाख २०७७, शनिबार ०७:१९

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले लकडाउनमा बाँझो जग्गालाई खनजोत गरी कृषि उत्पादन र पशुपालन गर्नेलाई अनुदान दिने भएको छ ।

लकडाउनको प्रभावले गाउँपालिकामा खाद्यसंकट उत्पन्न हुन सक्ने परिस्थितीलाई मध्यनजर गर्दै ५ वर्षदेखि बाँझो जग्गा उपयोग गरी कृषि पेसा गर्नेलाई मल, बिउ र खनजोतको लागि प्रोत्साहन स्वरुप अनुदान दिने निर्णय कार्यपालिकाले गरेको हो । गाउँपालिकाभित्र ६० प्रतिशत जग्गा बाँझो रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले भू–उपयोग कार्यविधि २०७७ (संशोधनसहित) कार्यान्वयनमा ल्याउँदै कृषि उत्पादन बढाउनको लागि बाँझो जग्गामा खेती गर्न गाउँपालिकाबासीलाई सूचित गरेको कार्यालयले जनाएको छ । गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले खेतियोग्य जग्गा बाँझो नराख्न तथा आवश्यक अनुदान उपलब्ध गराउनका लागि आवश्यक निर्णय लिइएको बताए ।

गाउँपालिकाले विभिन्न शिर्षकमा १५ सय देखि ५ हजारसम्म प्रति रोपनीका दरले अनुदान दिने व्यवस्था गरेको छ । बाँझो जग्गामा फलफूल खेती गरेमा प्रति रोपनी २ हजार, अन्नबाली, तरकारीवाली, नगदेवाली र मसलेदार खेती गरेमा २ हजार ५ सय, गाउँपालिका भन्दा बाहिर बस्ने विपन्न तथा मजदुरले निजी वा भाडामा लिएर खेती गरेमा ३ हजारका दरले अनुदान दिने गाउँपालिकाले जनाएको छ ।

आफ्नो स्वामित्वमा रहेको वा भाडामा लिएर बाँझो जग्गामा सुधारिएको गोठ वा खोर निर्माण गरी घाँस लगाउँदै व्यवसाायिक पशुपालन गरेमा प्रति रोपनी ३ हजार, बाँझो जग्गामा ३० वटा बाख्रा, ५ वटा गाई र १० वटा बंगुर पाल्ने गरी गोठ वा खोर निर्माण गर्न मुल्याङ्कनको आधारमा बढीमा १ लाख सम्म अनुदान दिने व्यवस्था गाउँपालिकाले गरेका छ ।

यसैगरी माछापालन गर्नका निम्ति पोखरी निर्माण गरी प्रयोगमा ल्याएमा १५ हजार, मौरीपालन गर्ने कृषकलाई प्रति घार ५ हजार, व्यवसायिक जडिबुटी खेती गर्नका लागि प्रति रोपनी ५ हजारसम्म अनुदान उपलब्ध गराइने गाउँपालिका अध्यक्ष हुमागाईंले जानकारी दिए ।

गाउँपालिकाको निर्णय अटेर गर्ने कृषकलाई दण्डको व्यवस्था पनि गरिएको छ । खेतीयोग्य जग्गा बाँझो राखेमा गाउँसभाबाट अनुमोदन हुने गरी भूमिकरमा बृद्धि गरिने, जग्गाधनीलाई अनुदानका कार्यक्रमबाट बञ्चित गरिने र गाउँपालिकाले प्रदान गर्ने सेवाबाट समेत बञ्चित गर्न सकिने जनाइएको छ ।

गाउँपालिकाकाले निर्णय विपरित बाँझो जग्गा राखेमा कुनै जग्गा नभएको मोहीले कमाउन चाहेमा गाउँपालिकाले उपलब्ध गराउने सक्ने बताइएको छ । कृषकले खेती गर्न नसकेको खण्डमा त्यस्तो बाँझो जग्गा गाउँपालिकाको भूमि बैंकमा जग्गा गर्नुपर्ने नियम छ ।

अध्यक्ष हुमागाईंका अनुसार विदेशबाट फर्किएका वा जाने तयारीमा रहेका विपन्न समुदायका एकसय जना युवालाई तालिमसहित कृषि तथा पशुपालनका लागि प्रोत्साहन गर्न बीउ पुँजी सहयोग गर्ने गाउँपालिकाको योजना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*