थाहा नगरको तरकारी बिक्रीका लागि बजारको खोजीः मेयर विष्ट

बाइलाइन नेपाल
२४ बैशाख २०७७, बुधबार ०७:२७

हेटौंडा । थाहा नगरमा उत्पादन भएको तरकारी बिक्रीको लागि नयाँ बजार खोज्न थाहा नगरपालिकाका मेयर लवशेर बिष्टले आग्रह गरेका छन् ।

सहकारी समन्वय समिति थाहा नगरपालिकाको प्रथम बैठकलाई सम्बोधन गर्ने क्रममा मेयर विष्टले अहिले भइरहेका बजारमा मात्र थाहा नगरमा उत्पादन भएको तरकारी खपत हुन नसक्ने र लगानी डुब्ने अवस्थामा आएकाले नयाँ बजार खोज्नु पर्ने बताएका हुन् ।

कोरोना भाइरसको संक्रमणका कारण गरिएको लकडाउनले थाहा नगरको तरकारी बजार पुर्याउन समस्या भइरहेको मेयर विष्टले बताए । उनले अन्य सहरमा थाहाको तरकारी बिक्रीका लागि लैजाने विषयमा वाग्मती प्रदेश सरकारसँग कुरा भइरहेको जानकारी दिए ।

सहकारीका सदस्य कृषकहरुले उत्पादन गरेका तरकारीको उचित बजार ब्यवस्थापनका लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने समेत मेयर विष्टले बताए ।

नगर समन्वय समिति अध्यक्ष महेश्वर सुवेदीको अध्यक्षतामा बसेको बैठकले थाहानगरमा उत्पादन भएका तरकारीको संकलन र बजारिकरणको लागि फणिन्द्र सुवेदीको संयोजत्वमा एक समिती समेत गठन गरेको छ । समितिको सदस्यहरुमा विमल केसी र शुक्ला गोपाली रहेका छन् ।

बैठकमा थाहा नगरपालिका उपप्रमुख खड्ग गोपाली, मकवानपुर जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमलकुमार ढकाल, जिल्ला कृषि सहकारी संघ मकवानपुर सदस्य राजकुमार केसीलगायतको उपस्थिति रहेको थियो ।

थाहा नगरमा उत्पादन भएका तरकारीको मकवानपुर जिल्ला सहकारी संघ मार्फत जिल्लाका सहकारी सस्थाहरुमार्फत बिक्रीवितरण गर्ने संयन्त्रको निर्माण गरिएको मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोबिन्द दाहालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*