लकडाउनले समस्या परेकी सुत्केरीलाई सहयोगी मनको सहयोग

बाइलाइन नेपाल
२३ बैशाख २०७७, मंगलवार ०७:४६

हेटौंडा । कोरोना भाइरसको विश्वव्यापी संक्रमणसँगै नेपाल सरकारले गरेको लकडाउनका कारण समस्या परेकालाई सहयोग गर्दै आएको सहयोगी मन नेपालले आफ्नो कामलाई जारी राखेको छ ।

लकडाउनका कारण हेटौंडा–११ सुकुम्बासी बस्तीमा समस्यामा परेको एउटा परिवारलाई सहयोगी मन नेपालले सहयोग गरेको छ । तीन महिनाकी सुत्केरी महिला लकडाउनका कारण खान नपाएर समस्यामा परेको थाहा पाएपछि तत्काल पुगेर सहयोग गरेको संस्थाका अध्यक्ष केदार चौलागाइंले बताए ।

सहयोगी मनले घरमै पुगेर चामल, नुन,दाललगायतका खाद्यान्नसहित बच्चाका लागि ल्याक्टोजिन सहयोग गरेको चौलागाईले जानकारी दिए । कोरोना भाइरस सुरु भएपछि माक्स, डिटोल साबुनलगायतका स्वास्थ्य सामाग्री विभिन्न संस्था र सर्वसाधारणलाई सहयोग गर्दै आएको सहयोगी मनले पछिल्ला दिन लकडाउनका कारण हिँडेरै घर गइरहेका सर्वसाधारणलाई गन्तव्यसम्म पुर्याउने तथा खाना खुवाउने काम गरिरहेको छ ।

संस्थाले आफ्नै सवारीसाधनमा हालसम्म तीन सय जना भन्दा धेरैलाई उद्धार गर्ने, खाना खुवाउने र गन्तव्यमा पुर्याउने काम गरेको चौलागाईंको भनाइ छ । उनले सबै खर्च संस्थाले गरेर निवार्थ भावनाले समस्यामा परेका सर्वसाधारणलाई सहयोग गरिरहेको जानकारी दिए । संस्थाले हिँडेर घर जान लागेका देखि गर्भवती तथा बिमारीलाई अस्पतालमा पुर्याउने समेत काम गरिरहेको जनाएको छ ।

समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्न संस्थाले एउटा सवारीसाधान नै राखेको अध्यक्ष चौलागाईले जानकारी दिए । ‘सवारीसाधनमा खानेकुरा लिएर हिड्ने गरेका छौं । समस्यामा परेकालाई पहिला खाना दिएर सवारीसाधान मार्फत् गन्तव्यमा पुर्याउने काम गरिरहेका छौं । सुरु मा स्वास्थ्य सामाग्री वितरण गरेका थियौ । अहिले लकडाउनका कारण गन्तव्यमा हिडेका सर्वसाधारणलाई खाना र यातायातको सुविधा उपलब्ध गराएका छौं,’–अध्यक्ष चौलागाईले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*