खेलपत्रकार सुमनको स्मृतिमा आश्रमलाई सहयोग

बाइलाइन नेपाल
१९ बैशाख २०७७, शुक्रबार १४:५१

हेटौंडा ।विनाशकारी भूकम्प परी निधन भएका खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा शुक्रबार हेटौंडाको एक वृद्धाश्रमलाई नगद सहयोग हस्तान्तरण गरिएको छ ।

हेटौंडा–२, चौकीटोलमा रहेको ओम वृद्धाश्रममा आश्रितहरुलाई एकदिनको भोजन ग्रहणका लागि नेपाल खेलकुद पत्रकार मञ्च केन्द्रीय कार्यसमिति काठमाडौंले आफ्ना पूर्वसदस्य भोम्जनको स्मृतिमा वृद्धाश्रलाई मञ्चको मकवानपुर समन्वय शाखामार्फत् नगद दशहजार रुपैया“ सहयोग गरेको हो । भोम्जनको २०७२ साल वैशाख १२ गतेको भूकम्पमा परी निधन भएको थियो ।

मञ्च मकवानपुर अध्यक्ष राजन दाहाल, मृतक भोम्जनकी आमा विमला भोम्जन, दाजु मदन भोम्जन, नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकरद्वय रञ्जन विष्ट र अञ्जन विष्टसहितको समूहले उक्त रकम आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई हस्तान्तरण गरेका थिए ।

भोम्जनको स्मृतिमा प्रत्येक वर्ष वैशाख १९ गतेको दिनमा मञ्चले विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको भएपनि यसवर्ष कोरोना भाइरसका कारण जिल्ला शाखामार्फत् आश्रमलाई सहयोग उपलब्ध गराइएको जिल्ला अध्यक्ष दाहालले जानकारी दिए ।

उनका अनुसार भूकम्प १२ गते आएको भएपनि भोम्जनको शब भेटिएको दिन अर्थात वैशाख १९ गते स्मृति दिवस मनाउने गरिएको छ । भोम्जन मञ्च मकवानपुरका संस्थापक अध्यक्ष समेत थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*