सांसद कृष्णप्रसाद दाहालको पहलमा मकवानपुरका दुई हजार सर्वसाधारण फर्किए घर

बाइलाइन नेपाल
१२ बैशाख २०७७, शुक्रबार १७:०३

हेटौंडा । लकडाउनको कारणले काठमाडौं उपत्यकामा बेखर्ची भएर बसेका २ हजार मकवानपुरवासीलाई संघीय सांसद तथा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले घर फर्काउन पहल लिएका छन् ।

मकवानपुर क्षेत्र नम्बर १ का सांसद दाहालको पहलमा विभिन्न पेशा व्यवसाय गर्दै आएका र जारी लकडाउनका कारण समस्यामा परेका २ हजार १ सय ५० जनालाई  बसको व्यवस्था गरि उद्धार गरेका हुन । उनले पहलकदमी लिएसंगै अर्का सांसद बिरोध खतिवडा, प्रदेश सभा सांसदद्वय प्रेम पुलामी, कुमारी मोक्तान तथा बागमती गाउपालिका अध्यक्ष सर्केश घलान ,बकैयाका अध्यक्ष दामोदर खनाल र उपाध्यक्ष सरला बोलखेले समेत आआफ्नो ठाउँबाट पहलकदमी लिए र सहयोग गरेका थिए ।

लकडाउनको कारणले खान, बस्न समस्या परेका, मकवानपुरका जनताहरुको बिचल्ली नहोस्, सबै आफ्नो परिवारसगँ बस्न पाउन भनेर ४२ वटा बसको व्यवस्थापन गरेर २ हजार १ सय ५० जनालाई घर पठायौं,’ दाहालले भने ।

गत मंगलबार ७ वटा बसमा ३ सय ५० जना, बुधबार २० वटा बसमा ११ सय २० जना र बिहिबार १५ वटा बसमा ६ सय ८०जनाको उद्धार गरिएको र बाँकी रहेकाहरुको पुनःउद्धार गरिने अर्थसमितिका सभापति दाहालले बताए ।

मकवानपुरेहरुको उद्धारका लागि नारायणी यातायात व्यवसायिक कम्पनी प्रालिका अध्यक्ष गोकर्ण पराजुलीको सहयोगमा १२ वटा बसको व्यवस्थापन भएको थियो । अझै पनि बिच्ली परेकाहरुका लागि बस व्यवस्थापन गर्न तयार रहेको कम्पनीका महासचिव खोमराज काफ्लेले जानकारी दिए ।

गत बुधबार बकैया र गढी गाँउपालिकाले लकडाउनको कारण अलपत्रहरुको ११ वटा र २ वटा बस व्यवस्थापन गरेको थियो । भने हिजो बागमती गाउँपालिकाले १० वटा र हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १८ र ३ ले दुईवटा बस व्यवस्थापन गरेको सांसद दाहालले जानकारी दिए ।

नारायणी यातायात व्यावसायि कम्पनी प्रालिले सांसद दाहालकै पहलमा १२ वटा बस पठाएको थियो । अन्य बसहरुलाई गाउँपालिका र वडाहरुले खर्च व्यवस्थापन गरेका थिए ।

काठमाडौंबाट जिल्ला भित्रीएका मानिसहरूलाई स्वास्थ्य परिक्षण गरिएको तथा होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए ।

राती गएका यात्रुहरुको समेत स्वास्थ्य परिक्षणका साथै तथ्यांक संकलन गरि होम क्वारेन्टाइनमा राखिएको बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताइन् ।

काठमाडौं उपत्यकामा रहेका मकवानपुरेहरुको अझै छुटेका भए सम्पर्कमा आउन अनेरास्वायु केन्द्रीय सदस्य दीपक न्यौपाने अग्रह समेत गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले पनि गाडी आवात जावतमा सहयोग गरेका थिए ।

काठमाडौँबाट मकवानपुरेहरुको उद्धारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुर–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष जगत थिङ, बागमती प्रदेश युवा तथा खेलकुद सदस्य नारायण सापकोटा, अनेरास्वायु केन्द्रीय सदस्य दीपक न्यौपाने र दामोदर फुयाल, प्रेस संगठन नेपाल काठमाडौँका सदस्य राजाराम न्यौपाने र युवा समाजसेवी उज्ज्वल दाहाल, मकवानपुरका हरिशरण तिमल्सिना र प्रवेस दाहाल र विद्रोह दाहालले समन्वकारी भूमिका खेलेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*