लकडाउनले बिचल्लिमा परेकाहरुको साहारा बन्दै सहयोगी मन नेपाल

बाइलाइन नेपाल
१२ बैशाख २०७७, शुक्रबार १६:५१

हेटौंडा । कोरोना भाइरसको विश्वव्यापी संक्रमणसँगै नेपाल सरकारले गरेको लकडाउनका कारण बिचल्लिमा परेका सर्वसाधारणको उद्धार र सहयोगमा मकवानपुरमा रहेको सहयोगी मन नेपाल नामक संस्था लागिपरेको छ ।

कोरोना भाइरस सुरु भएपछि माक्स, डिटोल साबुनलगायतका स्वास्थ्य सामाग्री विभिन्न संस्था र सर्वसाधारणलाई सहयोग गर्दै आएको सहयोगी मन नेपालले पछिल्ला दिन लकडाउनका कारण हिँडेरै घर गइरहेका सर्वसाधारणलाई गन्तव्यसम्म पुर्याउने तथा खाना खुवाउने काम गरिरहेको छ ।

संस्थाले आज ललितपुरबाट कान्तिलोक हुँदै हिँडेर आइरहेका १० जनालाई मकवानपुरगढीको लेनडाँडाबाट उद्धार गरेको अध्यक्ष केदारप्रसाद चौलागाईंले जानकारी दिए । ललितपुरबाट तीन दिन हिँडेर लेनडाँडा आइपुग्दा हिड्न नसकेर सडक छेउमा बसिरहेको खबर पाएपछि सहयोगी मनले आफ्नै सवारीसाधानमा १० जनाको उद्धार गरेर खाना खुवाएको चौलागाईले बताए ।

जनकपुरमा रहेको घर जान हिँडेका उनिहरुलाई सहयोगी मन नेपालले दही चिउरा खुवाएर हेटौंडा ल्याइ पूर्व जाने सवारीसाधनमा राखी पठाएको जनाइएको छ । दिनरात जुनसुकै समयमा पनि संस्थाले सर्वसाधारण अलपत्र अथवा बिमारी परेको खबर पाएमा तत्काल उद्धारका लागि पुग्ने गरेको अध्यक्ष चौलागाईले बताए ।

संस्थाले आफ्नै सवारीसाधनमा हालसम्म २ सय ५० जना भन्दा धेरैलाई उद्धार गर्ने, खाना खुवाउने र गन्तव्यमा पुर्याउने काम गरेको चौलागाईंको भनाइ छ । उनले सबै खर्च संस्थाले गरेर निवार्थ भावनाले समस्यामा परेका सर्वसाधारणलाई सहयोग गरिरहेको जानकारी दिए । संस्थाले हिँडेर घर जान लागेका देखि गर्भवती तथा बिमारीलाई अस्पतालमा पुर्याउने समेत काम गरिरहेको जनाएको छ ।

समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्न संस्थाले एउटा सवारीसाधान नै राखेको अध्यक्ष चौलागाईले जानकारी दिए । ‘सवारीसाधनमा खानेकुरा लिएर हिड्ने गरेका छौं । समस्यामा परेकालाई पहिला खाना दिएर सवारीसाधान मार्फत् गन्तव्यमा पुर्याउने काम गरिरहेका छौं । सुरु मा स्वास्थ्य सामाग्री वितरण गरेका थियौ । अहिले लकडाउनका कारण गन्तव्यमा हिडेका सर्वसाधारणलाई खाना र यातायातको सुविधा उपलब्ध गराएका छौं,’–अध्यक्ष चौलागाईले भने ।

उनले लकडाउन कायम रहेसम्म समस्यामा परेकालाई सहयोगी मन नेपालले सहयोग गरिरहने बताए । संस्थाको स्रोत र साधनले भ्याएसम्म गरिरहेको र यसलाई निरन्तरता दिने अध्यक्ष चौलागाईको भनाइ छ । संस्थाका अध्यक्ष चौलागाई आफै सवारीसाधन चलाएर उद्धारमा पुग्ने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*