भीमफेदी कारागारका १३ कैदीबन्दी क्वारेन्टाइनमा

बाइलाइन नेपाल
१० बैशाख २०७७, बुधबार १५:३९

मकवानपुरको भीमफेदीमा  रहेको क्षेत्रीय कारागारका  १३ जना कैदीबन्दीलाई क्वारेन्टाइनमा राखिएको छ । सरकारले चैत ११ गतेबाट लकडाउनको घोषणा गरेसँगै आएका नयाँ कैदीबन्दीहरुलाई कारागार प्रशासनले क्वारेन्टाइनमा राखेको हो ।

‘सरकारले लकडाउन घोषणा गर्नूभन्दा तीनदिन अगाडिबाट हामीले उच्च सतर्कता अपनाएर बाहिरको मान्छेलाई कैदीबन्दीसँग भेट्न दिएका छैनौं।’, कारागारका जेलर प्रकाश खनालले भने। उनका अनुसार चैत ८ गतेबाट थपिएका १३ जना कैदीबन्दीलाई छुट्टै कोठामा राखिएको छ। ‘नयाँ कैदीबन्दीले पुराना कैदीबन्दीबाट टाढा राखिएको छ।’, उनका अनुसार कारागार प्रशासनले दुईवटा कोठालाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिरहेको छ। ‘क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको कोठामा ४० जनासम्म अटाउँछन्।’

खनालका अनुसार उनीहरुको र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) किटबाट एन्टीबडी परीक्षण गरिएपछि मात्र अरुसँग राखिने छ। भीमफेदी कारागारमा हाल नौसय ७६ जना कैदीबन्दी रहेका छन्। कारागारभित्र कर्मचारी तथा प्रहरी छिर्दा ज्वरो परीक्षण गर्ने र हात धुने तथा सेनिटाइजरको प्रयोग गरेरमात्र छिराउने गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले क्षेत्रीय कारागार भीमफेदीमा आरडीटी परीक्षणको तयारी भइरहेको बताए। ‘भीमफेदी गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले क्षेत्रीय कारागारमा आरडीटी परीक्षण गर्नेछ। हामीले त्यसका लागि आवश्यक किट उपलब्ध गराइसकेका छौं।’, उनका अनुसार पहिलो चरणमा आरडीटी परीक्षणका लागि ४० वटा किट भीमफेदी पठाइएको छ। पहिलो चरणमा क्वारेन्टाइनमा रहेका कैदीबन्दीहरुको आरडीटी परीक्षण हुनेछ। –साभारः ईकान्तिपुर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*