अबको प्राथमिकता रोजगार र उत्पादनःमुख्यमन्त्री पौडेल

बाइलाइन नेपाल
९ बैशाख २०७७, मंगलवार १८:१३

हेटौंडा  । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मङ्गलबार धादिङ, दोलखा, रसुवा र काभ्रेपलान्चोक जिल्लाका स्थानीय तहका प्रमुखहरुसङ्ग भिडियो कन्फ्रेन्स गर्नुभएको छ ।

कन्फ्रेन्समा उहाँले अब रोजगार र उत्पादन क्षेत्र प्राथमिकतामा पर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले भन्नुभयो–“हिजोको प्राथमिकता पुर्वाधारमा थियो, सडकमा थियो, पुलमा थियो अब रोजगार र उत्पादनको कुरा प्राथमिकतामा हुन्छ ।“उत्पादनको आधार कृषि क्षेत्र भएकोले वास्तविक किसानले अनुदानमा बिउबिजन, मललगायतका सामग्री उपलब्ध गराईने बताउनुभयो । मुख्यमन्त्री पौडेलले भन्नुभयो–“ १५ देखि २० लाख युवा अब बिदेश बाट फर्कन्छन, उनीहरुलाई पनि रोजगार दिनुपर्छ ।“

अहिलेको अवस्थामा स्थानीय तहको काम गर्व गर्न लायक रहेको भन्दै कोरोना सङ्क्रमण रोकथाम नियन्त्रणको प्रयासको प्रशंसा गर्नुभयो । अहिले संघीय सरकारको, प्रदेश सरकारको बजेट कुर्नु नपर्ने भन्दै स्थानीय तहसंग भएको स्रोतलाई अधिकतम प्रयोग गर्न सकिने बताउनुभयो । जुन ठाउँको स्रोत र साधन प्रयोग गरेपनि राज्यकै हितको लागि प्रयोग हुने उहाँले जानकारी दिनुभयो ।

ज्यालादारी गर्न नपाएर खान समस्या हुनेलाई राहतका लागि प्राथमिकतामा राख्न उहाँले आग्रह गर्नुभयो । राहत बितरणमा प्रतिस्पर्धा गर्ने बिकृति देखिएको भन्दै बितरण प्रणालीलाई ब्यबस्थापन गरेर एकद्वार बनाउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो–“कोरोना सङ्गै भोक सङ्ग पनि लड्नु पर्ने हुन सक्छ त्यसैले राहत दिन जरुरी छ तर यसलाई ब्यबस्थापन गरौ ।”

स्थानिय तहले बाहिरी देशबाट आउने व्यक्ति, उनीहरुसंग संसर्ग भएका ब्यक्ति पत्ता लगाउने काम जारी राख्न आग्रह गर्दै स्वास्थ्य परिक्षणका लागि तयारी हालतमा रहनु पर्ने बताउनुभयो । महामारीले दुख, समस्या ल्याउने भन्दै स्वास्थ्य सामग्री, खाद्य सामग्री पुर्याउन आबश्यक व्यबस्था सरकारले मिलाउने बताउनुभयो । उहाँले भन्नुभयो –“हामी सबै मिलेर कोरोनालाई पराजित गर्न सक्छौ, एकजुट हौं, मिलौ, हातेमालो गरौ, आत्मबिश्वास, आत्मबल बलियो पारौं ।” तत्कालका समयमा पैदलयात्रीहरुलाई खानाको ब्यबस्था गरी गन्तब्यतर्फ पठाउन सहजीकरण गर्न समेत उहाँले आग्रह गर्नुभएको थियो ।

मुख्यमन्त्री पौडेलले मंगलबार काभ्रेको धुलीखेल नगरपालिका, रामेछापको खाँडादेबी गाउँपालिका, धादिङको निलकण्ठ नगरपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, रसुवाको उत्तरगया गाउँपालिका, नौकुण्ड गाउँपालिका, आमाछोदिङबो गाउँपालिकाा, दोलखाको शैलुङ गाउँपालिका र जिरी नगरपालिकाका प्रमुखहरुसंग भिडियो कन्फ्रेन्स गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*