राहतको नाममा नगद बाँडेको कांग्रेस मकवानपुरको आरोप

बाइलाइन नेपाल
७ बैशाख २०७७, आईतवार १४:०१

हेटौंडा । सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न दिएको निर्देशन विपरित मकवानपुरमा राहतको नाममा नगद वितरण गरेको नेपाली कांग्रेस मकवानपुरले आरोप लगाएको छ ।

नेपाल कांग्रेस मकवानपुरले जिल्ला पार्टी कार्यालयमा गरेको पत्रकार भेटघाट कार्यक्रममा मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले प्लान नेपालले राडो नेपालमार्फत हेटौंडाका विभिन्न वडामा राहतको नाममा नगद वितरण गरेको प्रति आपत्ति जनाएका हुन् ।

मकवानपुरमा अन्तराष्ट्रिय गैरसरकारी संस्था प्लान नेपालमार्फत राडो नेपालले राहतको नाममा नगद वितरणको काम जारी रहेको भन्दै गैरसरकारी संस्थामार्फत राहतको नाममा नगद वितरणको काम बन्द गर्दै राहत रकममा नभई स्थानीयस्तरमा आवश्यक सामग्री सम्बन्धित स्थानीय तहमा उपलव्ध गराउने व्यवस्था गर्न प्रशासनको ध्यानाकर्षण गराएको कांग्रेसले जनाएको छ । राहत वितरणमा राजनीतिक लाभको उद्धेश्य राखेर काम गरेको प्रति आपत्ति रहेको बानियाँले बताए ।

बैशाख ५ गते बेलुका आएको असिनापानी र हावाहुरीका कारण मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ लगायतका क्षेत्रमा सयौं घरगोठ, तरकारी र अन्नबालीमा क्षति पुगेको भन्दै कांग्रेसले त्यस क्षेत्रका जनतालाई यथाशिघ्र गाँसबासको व्यवस्था र अवरुद्ध विद्युत यथाशिघ्र सुचारु गर्न कांग्रेसले माग गरेको छ ।

संकटको यो अवस्थामा व्ययभार बढ्ने ढंगले गठन गरेको भुमि समस्या समाधान आयोग गठनको निर्णय र्फिता लिन र गन्तव्यमा जान लागेका विपन्न श्रमिक र मजदुरप्रति मानवीयता देखाउन कांग्रेसको आग्रह छ ।

पत्रकार सम्मेलनमा जिल्ला उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, आनन्द कठायत, सहसचिव रामबाबु बानियाँ, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, पार्टी वक्ता प्रदिप कोइराला लगायतको उपस्थिति रहेको थियो ।साभारः प्रष्टखबर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*