मकवानपुरमा असिनापानीले तरकारी बाली र घरमा क्षति

बाइलाइन नेपाल
६ बैशाख २०७७, शनिबार १६:००

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा शुक्रबार राति आएको हावाहुरी र असिनापानीले तरकारी बाली तथा घर भत्काएको छ ।

राति करिब ८ बजेपछि हावाहुरीसहित आएको असिनापानीले मनहरी–५, डिल्लीपुर क्षेत्रमा लगाइएको तरकारी, फलफूल, मकै तथा अन्य वाली पूर्णरुपमा नष्ट गरेको स्थानीय पुरुषोत्तम सापकोटाले बताए। ‘मकै, तरकारी तथा अन्य वाली सबै नष्ट भएको छ। धानवालीलाई भने क्षति गरेको छैन’ उनले भने। स्थानीय सापकोटाका अनुसार त्यसवडामा रहेको सम्पूर्ण घरधुरीलाई हावाहुरीसहितको असिनापानीले असर गरेको छ।

‘करिब दुईसयभन्दा बढी घरधुरीको जस्तापाता उडाएको छ। खानेपानीको ट्यांकी भत्किएको छ ’ उनले भने, ‘जस्तापाता उडाएको घरभित्र रहेका सबै अन्नपात नष्ट भएको छ। विजुलीका पोलहरु समेत ढलेका छन्।’ उनले ठूलोठूलो असिना पर्दा कतिपय स्थानमा रुखमा बसेको चराहरु समेत मरेर झरेका छन्।

सञ्चारकर्मी तथा स्थानीय केशव समर्पणका अनुसार एउटा वडामा व्यापक क्षति भएको र नजिकको वडामा केही पनि क्षति नभएको बताए। ‘हाम्रो वडामा व्यापक क्षति भएको छ। अन्य वडामा भने सामान्य हावाहुरी र पानी परेको थाहा पाउँदा गाउँले सबै अच्चममा परेका छन् ’, उनले थपे।

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीका अनुसार घटना स्थलमा पालिकाकाका प्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मीसहितको टोली पुगिसकेको छ। ‘घटना स्थलमा पुगेर क्षतिको तथ्यांक संकलन सुरु भइसकेको छ। तरकारी तथा खाद्य वालीमा बढी क्षति भएको देखिन्छ ’, उनले भने। त्यस क्षेत्रमा तरकारी बढी उत्पादन हुने गर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*