थाहा नगरपालिकाको कामः हिँडेर घर जान लागेका एकसय जनालाई खाना खुवाएर गाडीमा घर पठाइयो

बाइलाइन नेपाल
६ बैशाख २०७७, शनिबार १५:५४

थाहा नगरपालिकाले लकडाउनको अवधिमा जंगलको बाटो भएर घर जाँदै गरेको एक सय एक जनाको उद्धार गरेको छ ।

छिमेकी जिल्ला धादिङको धुनवेशीस्थित जीवनपुरमा रहेको इँटाभट्टाका कामदारहरु थाहा नगरपालिका–९, चित्लाङको जंगलको बाटो हुँदै घर जाँदै गर्दा उनीहरुको उद्धार गरिएको हो । चित्लाङका प्रहरी, जनप्रतिनिधि तथा गाउँलेहरुले उनीहरुको शुक्रबार राति ८ बजे उद्धार गरेर शनिबार बिहान ट्रकमा राखेर बाराको पथलैयासम्म पुर्‍याइदिएको स्थानीय महालक्ष्मी प्राविका शिक्षक राजेन्द्र बलामीले जानकारी दिए ।

उनका अनुसार उनीहरुलाई शुक्रबार राति खाना खुवाएर नगरपालिकाको समन्वयमा सुरक्षित स्थानमा राखेर शनिबार बिहान तीनवटा ट्रकमार्फत् पथलैया पुर्‍याइएको हो ।

‘प्रहरी, नगरपालिका र स्वास्थ्यकर्मीको सहयोगमा उनीहरुको ज्वरो नापिएको थियो । उनीहरुको शरीरको तापक्रम सामान्य रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा मकवानपुरबाट बारा प्रहरीको जिम्मा लगाइएको हो,’ थाहा–९ का वडाअध्यक्ष पर्शुराम श्रेष्ठले भने । उनका अनुसार उद्धार गरिएकोमा ४५ जना पुरुष, ४० जना महिला, ९ बालिका र सात बालक रहेका थिए ।

‘हामी बिहान आठ बजे हिँडेका थियौं । रातको समयमा जंगलको बाटो हुँदै नौबिसेबाट चित्लाङको गोरेटोबाटोबाट भीमफेदी निस्कने योजना बनाएका थियौं,’ २ वर्षीया छोरी बोकेकी १९ वर्षीय सविना पाख्रिनले भनिन्, ‘हामी भोकभोकै १२ घण्टासम्म हिँड्यौ ।’, उनले बाटो–बाटोमा भेटिन धारामा पानी भर्दै खाँदै यात्रा गरेको बताइन् । आफूहरुसँग भएको सबै पैसा सकिएको र अझै लकडाउन खुल्ने ठेगान नभएपछि सबैजना मिलेर हिँड्ने निधो गरेको बताइन् । उनीहरु सिरहा, सर्लाही र रौतहटका रहेको बताइएको छ ।-साभारः ईकान्तिपुर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*