वाग्मतीका १३ जिल्लामा कोरोनाको र्‍यापिड टेस्ट सुरु

बाइलाइन नेपाल
२ बैशाख २०७७, मंगलवार १५:४३

वाग्मती प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) सुरु गरेको छ । पहिलो चरणमा क्वारेन्टाइनमा बसिरहेकाहरूको परीक्षण हुँदै छ ।

पहिलो चरणमा ४ हजार ३ सय जनाको र्‍यापिड टेस्ट गरिने प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए । ‘संघीय सरकारबाट पहिलो चरणमा र्‍यापिड टेस्टका लागि पाँच हजार किट प्राप्त भएको छ । तीन दिनभित्र परीक्षण सक्ने गरी जिल्लाजिल्लामा पुर्‍याएका छौं,’ उनले भने । सेढाईंका अनुसार सोमबार १ सय ५१ जनाको परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

पहिलो चरणमा सबैभन्दा बढी चितवनमा सात सय जनाको र्‍यापिड टेस्ट गरिने भएको छ । यसै गरी सिन्धुपाल्चोक र ललितपुरमा चार/चार सय, काठमाडौं, रामेछाप, दोलखा, सिन्धुली काभ्रे, धादिङ, नुवाकोट, मकवानपुरमा तीन/तीन सय तथा भक्तपुर र रसुवामा दुई/दुई सयको परीक्षण हुनेछ ।

‘प्रदेश सरकारले संघीय सरकारसँग थप किट माग गरेको छ । केही दिनमै प्राप्त हुने आश्वासन मिलेको छ,’ सेढाईंले भने । उनका अनुसार उपत्यकासहित काभ्रेमा संघीय सरकारले पनि छुट्टै परीक्षण गर्नेछ ।

वाग्मती प्रदेशभर हाल ६ सयभन्दा बढी क्वारेन्टाइनमा छन् । मन्त्रालयका अनुसार चितवनमा ४ सय ९७, धादिङमा ३६, भक्तपुरमा २३, सिन्धुपाल्चोकमा १५, नुवाकोटमा १३, रामेछापमा १०, काठमाडौंमा ७, ललितपुरमा ५, रसुवामा तीन तथा मकवानपुर, सिन्धुली, काभ्रेमा एक/एक जना क्वारेन्टाइनमा छन् । दोलखामा भने शून्य रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेशभर हालसम्म ३४ सय ७९ क्वारेन्टाइन बेड रहेको र १ हजार ४७ वटा थप्ने तयारी हुँदै छ । हालसम्म प्रदेशभर ९ सय ४५ आइसोलेसन बेड छन् भने १ सय ७४ वटा थपिँदै छन् । सबैभन्दा बढी क्वारेन्टाइन धादिङमा निर्माण भएको छ । धादिङमा ५ सय १२, सिन्धुपाल्चोकमा ४ सय ३६, चितवनमा ३ सय बेड छन् । त्यस्तै आइसोलेसन बेड चितवनमा २ सय ९९, काठमाडौंमा १ सय ८५, ललितपुरमा १ सय २५, भक्तपुरमा ९१, दोलखामा ४१, रसुवा र मकवानपुरमा ३५/३५ वटा रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशभर हालसम्म ४ सय ७५ वटा आईसीयु सुविधासहितको बेड तयार भएका छन् । जसमध्ये चितवनमा १ सय ९६, काठमाडौंमा १ सय ४०, ललितपुरमा ९७, भक्तपुरमा ३५, मकवानपुरमा चार र काभ्रेमा तीनवटा छन् । नुवाकोट, रसुवा, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, दोलखामा भने हालसम्म आईसीयुसहितको बेड बनाइएका छैनन् । अझै ७३ वटा आइसीयु बेड निर्माण गर्न लागिएकोमा भक्तपुरमा २६, काठमाडौंमा २१, चिवतनमा २० र मकवानपुरमा ६ वटा बन्नेछन् ।

वाग्मती प्रदेशको राजधानी हेटौंडा, चितवन, काभ्रे तथा उपत्यकाभित्र कोरोना टेस्ट गर्ने पीसीआर मेसिनसमेत सञ्चालनमा छ ।

मकवानपुरमा लकडाउन झन् कडा

वीरगन्जमा तीन जना भारतीयमा कोरोना संक्रमण पुष्टि भएसँगै हेटौंडामा लकडाउन थप कडा पारिएको छ । बजारमा जथाभाबी हिँड्नेहरूको संख्या घटेको छ । प्रहरीले जिल्लाका सम्पूर्ण राजमार्ग तथा भित्री बाटोमा सवारी गुड्न दिएको छैन ।

जिल्ला प्रशासनमा सोमबार बसेको कमान्ड पोस्टको बैठकले मंगलबारबाट बिहान ९ बजेसम्म मात्र पसल खोल्न दिने निर्णय गरेको छ । यसअघिको बिहान १० देखि दिउँसो १ बजेसम्म पसल खोल्न दिने निर्णय रद्द गरिएको प्रशासनका सूचना अधिकारी देवचन्द्र गर्तौलाले बताए ।

त्यस्तै तराईका जिल्लाबाट खाद्यान्न बोकेर हेटौंडा आउने सवारीसाधनमा डिस–इन्फेक्सन स्प्रे छरेर मात्र जिल्ला प्रवेश गर्न दिने निर्णय भएको छ ।–साभारः ईकान्तिपुर डटकमबाट 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*