यसरी खोज्दै छ थाहा नगरपालिकाले आफ्ना नागरिक

बाइलाइन नेपाल
२ बैशाख २०७७, मंगलवार ०८:३०
फाइल तस्वीर

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका क्रममा भएको लकडाउनका कारण अलपत्र परेका आफ्ना नागरिक एपमार्फत् खोज्न सुरु गरेको छ ।

लकडाउनका कारण घर आउन नपाएका नागरिकलाई लक्षित गर्दै नगरपालिकाले सर्भे एप सञ्चालनमा ल्याएको हो । एपको माध्यमबाट नगरपालिकाको पहिचान गरेर नागरिकलाई समस्या परेको स्थानमै सेवा दिनेदेखि घरसम्म ल्याउने व्यवस्था गरेको नगरप्रमुख लवशेर विष्टले जानकारी दिए ।

नगरवासी लकडाउनका कारण कुन स्थानमा कस्तो अवस्थामा छन भन्ने जानकारी लिन र उनिहरु वा परिवारलाई परेको समस्या समाधान गर्न नगरपालिकाले अनलाइन एप मार्फत् काम सुरु उनले बताए । लकडाउनका कारण अलपत्र परेका वा खानेकुरा नभएर भोकै बस्नु परेको भए जानकारी पाएपछि नगरपालिकाले विभिन्न माध्यम मार्फत् समस्याको समाधानका लागि सर्भे एप सञ्चालनमा ल्याएको नगरप्रमुख विष्टले जानकारी दिए ।

यसका लागि नगरले १० वटा प्रश्नावली राखेर अनलाइन फाराम तयार पारेको छ। फाराममा नामथर, स्थायी ठेगाना, अस्थायी ठेगाना, परिवार संख्या, बालबालिका, लिंग, परिचय खुल्ने कागजपत्र, मोबाइल नम्बर, थाहा नगरमा सम्पर्क व्यक्ति, लकडाउनले पारेको समस्या र नगरपालिकासँगको अपेक्षा समावेश गरिएको छ।

सर्भे एप मार्फत हालसम्म २५ जनाभन्दा बढी नगरवासी नगरपालिकाको सम्पर्कमा आइसकेको नगरप्रमुख विष्टले जानकारी दिए । थाहा नगरपालिकाका स्थायी बासिन्दा भएका तर व्यवसाय, रोजगारीका कारणले मुलुकको अन्य भागमा रहेकालाई फाराम भरेकै आधार सहयोग प्रदान गर्ने उनको भनाइ छ । अरु स्थानीय तहमा थाहाका नगरवासी समस्यामा परेको भए ति स्थनीय तहसँग समन्वय गरेर राहतसहित सहयोग उपलब्ध गराउने योजनासहित थाहा नगरले काम गरिरहेको नगरप्रमुख विष्टले जानकारी दिए ।

धेरै नै समस्यामा परेको व्यक्तीहरु भएमा संघ र प्रदेश सरकारसँग समन्वय गरेर ल्याउने र क्वारेनटाइनमा राखिने जनाइएको छ । तर पहिलो प्रथमिकता नागरिकलाई जहाँ समस्या परेको छ । त्यही स्थानमा सेवा प्रदान गर्ने रहेको विष्टले बताए ।

थाहा नगरपालिका क्षेत्र भन्दा बाहिर रहेका थाहा नगरबासीले सर्भे फारम अनिवार्य भर्न र थाहानगर भन्दा बाहिर हुनुहुने सबैलाई शेयर गरिदिनूहुन विष्टले सबैलाई अनुरोध गरेका छन् ।

अनलाइन फारममा नगर बाहिर बसेका नागरिकहरुले आफ्नो व्यक्तिगत विवरणसहित नगरपालिकासँग आफ्नो अपेक्षा पेश गर्न सकिने व्यवस्था गरिएको छ ।“अपेक्षाको आधारमा अन्त रहेका नागरिकलाई राहत, सुरक्षा वा उद्धार के आवश्यक परेको हो व्यवस्था गर्छौं”, प्रमुख विष्टले भने, “अप्ठेरोमा परेका छन्, खान पाएकै छैनन् भने सम्बन्धित स्थानीय तहलाई फोन गरेर चेक मार्फत पैसा पठाइदिन्छु फलानो–फलानोलाई खान देऊ भन्छु ।”

उनले अप्ठेरो परेको अवस्थामा निर्धक्कसँग फोन वा सामाजिक सञ्जाल र नगरपालिकाको वेभसाइट मार्फत सार्वजनिक गरिएको फारम भर्न आग्रह गरेका छन् ।फाराम भर्ने लिंकः https://survey.app.do/2831174

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*