हेटौंडाबाट पठाइएको स्वाबको रिपोर्ट आउन बाँकी

बाइलाइन नेपाल
२९ चैत्र २०७६, शनिबार १९:२५

कोरोना संक्रमणको आशंकामा हेटौंडाबाट परीक्षणका लागि पठाइएका तीनजनाको स्वाबको रिपोर्ट आइपुगेको छैन । वीरगन्जको छपकैयाँस्थित एक मस्जिदमा बसिरहेका तीन भारतीय मुस्लिम धर्मगुरुको स्वाबमा कोरोनाको आशंका भएपछि उनीहरुलाई नारायणी अस्पतालमा आइसोलेसेनमा राखिएको छ ।

थप परीक्षणका शनिबार बिहान बिहान काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाबको नमुना पठाइएको थियो । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईंले शनिबार साँझसम्म नतिजा नआएको बताए ।

‘यो प्राविधिक विषय हो । हामीले किटान गर्न सक्दैनौं । तर, बेलुकासम्म नमूना परीक्षणको अन्तिम रिपोर्ट प्राप्त हुन्छ होला,’ उनले भने । सेढाईंले टेकु अस्पतालले बिहान ११ बजे स्वाब प्राप्त गरेको जानकारी आफूलाई गराएको बताए । । ‘३ बजेसम्म रिपोर्ट आउँछ भनिएको थियो । तर, अहिले बेलुका सात बजेसम्ममा आइपुग्ने जानकारी आएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

शुक्रबार दिउँसो २ बजे हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा ३५ जनाको कोरोना परीक्षण रिपोर्ट जारी गर्दा त्यसमध्ये तीनजनामा संक्रमण पोजेटिभ देखिन सक्ने सम्भावना रहेका कारण थप परिक्षण गर्नुपर्ने निष्कर्षमा मन्त्रालयको टोली पुगेको थियो । यसअघि पोखरामा कोरोना पोजेटिभ भेटिएको भने पनि काठमाडौंमा परीक्षण गर्दा नेगेटिभ भएको पाइएपछि यस विषयलाई मन्त्रालयले बाहिर नल्याएको हो । शनिबार भने हेटौंडामा स्वाब परीक्षण भएको छैन ।

पर्साको वीरगन्जमा बस्दै आएका २४ जना भारतीय मुस्लिम धर्म प्रचारकहरुको हेटौंडामा स्वाबका लागि ल्याइएको थियो ।

हेटौंडामा मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहटबाट स्वाब ल्याएर परीक्षण भइरहेका छन् । संघीय सरकारको सहयोगमा हेटौंडामा कोरोना परीक्षणका लागि पीसीआर मेसिन सञ्चालनमा ल्याइएको थियो । मेसिनमा एकपटकमा ६० वटा स्वाब परीक्षण गर्न मिल्ने भएपनि हालसम्म पूर्णरुपमा परीक्षण हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*